Shittalpati
महामारीमा सारथी बन्दै लोक दोहोरी प्रतिष्ठान गुल्मी

रामचन्द्र रायमाझी
गुल्मी, नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सारथी बनेको छ । महामारीको पहिलो चरणदेखि नै सक्रिय हुँदै आएको प्रतिष्ठान विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी कोरोना नियन्त्रणमा सारथी बनेको हो ।
जिल्लामा कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि प्रतिष्ठानले विभिन्न संघसस्थाहरुसँग सहयोगको पहल गर्दै यहाँका स्वास्थ्य संस्थाहरुलाई आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्ने कार्यमा निरन्तर क्रियाशिल हुँदै आएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुलाई एक्लै आवश्यक स्वास्थ्य सामग्री जुटाउन हम्मेहम्मे भएका बेला प्रतिष्ठान स्वास्थ्य सामग्रीको जोहो गर्न स्वास्थ्य संस्थाहरुको सारथी बनेको हो ।

यहाँ अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुनुको साथै स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएको अवस्थालाई दृष्टिगत गर्दै प्रतिष्ठानले विभिन्न संघसंस्थाहरुसँग पहल गरी स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीको सहयोग गर्दै आएको छ । मंगलबार मात्र गुल्मेली कलाकार तिलक बस्नेत र प्रतिष्ठानको पहलमा बोधिसत्वा विहार बुढानीलकण्ठ काठमाडौंको आार्थिक सहयोगमा तम्घास अस्पताल र जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

प्रष्तिठान र कलाकार बस्नेतको आग्रहमा बोधिसत्वा विहारले बौद्ध धर्मालम्बीहरुबाट संकलन गरेको आर्थिक सहयोगबाट यहाँका स्वास्थ्य संस्थाहरुलाई सुरक्षा सामग्री दिइएको प्रतिष्ठानका जिल्ला अध्यक्ष बसन्त खत्रीले बताए । उनका अनुसार ३० लाख बराबरको सुरक्षा सामग्री प्रदान गरिएको हो । विहारको सहयोगमा प्रतिष्ठानले २० वटा अक्सिजन कन्सन्ट्रेटर, माक्स, सेनिटाइजर, पीपीईलगायतका स्वास्थ्य सामग्री गुल्मी अस्पताल, सिमिचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रीङ्गा, शान्तिपुर र दुबिचौर स्वस्थ्य चौकीलाई वितरण गरेको अध्यक्ष खत्रीले जानकारी दिए । सामग्री हस्तातरण गर्न सामाजिक अभियान्ताहरु शान्ता शर्मा, ज्ञानेन्द्र शाही, कलाकार तिलक बस्नेत, प्रतिष्ठानका नि.वर्तमान अध्यक्ष जनक पन्थ, खुम खत्री लगायतको टोली विभिन्न स्वास्थ्य चौकीहरुमा पुगेको थियो । प्रतिष्ठानले केही दिनमै कोरोनाबाट प्रभावित मजदुरहरका लागि राहत समेत वितरण गर्ने प्रतिष्ठानका अध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update