Shittalpati
‘क्रिप्टोकरेन्सी र नेटवर्क व्यवसाय गर्नेलाई कारबाही हुन्छ’

पाल्पा, क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानुनी भनेको छ । बैंकले क्रिप्टोकरेन्सी गैरकानुनी रहेको ठहर गर्दै कारोबार गर्नेलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न/नगराउन सबैलाई आग्रह पनि गरेको छ । बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार गर्नेहरुलाई बेला बेलामा सचेत गराउँदै आएको छ ।

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कानूनी कारबाही हुने चेतावनी दिएको हो । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबार भइरहेको भन्दै केन्द्रीय बैंकले कारोबार गर्ने, कारोबारमा आवद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारवाही हुने चेतावनी दिएको छ । नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको र यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न पनि उसले भनेको छ । केहि दिनअघि मात्र महानगरीय अपराध महाशाखा काठमाडौंले क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई काठमाडौंबाट पक्राउ गरेका समाचार बाहिर आएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update