Shittalpati
पाल्पामा बैंकहरु खुलेपछि बढ्यो भिड–भाड

कृष्ण पोखरेल
पाल्पा, कोरोना सक्रमणको कारण एक महिना देखी सुनसान बनेको पाल्पाका बजारहरुमा बैंकहरु सञ्चालनमा आएसंगै भिडभाड बढेको छ । जिल्लाका सबैजसो बैंकहरुमा मानिसहरु लाईन लागेर पैसा झिक्न बैकसम्म पुग्ने गरेका छन् ।

केही बैकहरुले व्यस्थित दुरी कायम गरेर कारोबार सञ्चालन गरेपनि केही बैकहरुको व्यबस्थापन भने फितलो देखिएको छ । जिल्लामा कोरोना सक्रमण दर उच्च हुँदै गएपछी गएको बैशाख २५ गते देखी पाल्पामा सबै प्रकारका बैकिङ्ग कारोबारमा रोक लगाइएको थियो । हालै बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १ महिनासम्म बन्द भएका पाल्पाका बाणिज्य तथा विकास बैकहरु दैनिक ३ घण्टा सञ्चालन गर्ने निर्यण गरेसंगै पैसा झिक्ने र राख्नेको भिडभाड बढेको हो । घरमा रहेको पैसा सकिएपछी स्वास्थ्य मापदण्ड अपनाएर पैसा झिक्न बैक आएको तानसेनका नगरपालिका ६ का मदन सिंह रानाले बताए ।

१ महिनासम्म बैंकहरु बन्दा हुँदा कारोवार पूर्ण रुपमा बन्द भएको, मानिसहरुको दैनिकी छाक टार्न समेत पैसाको अभाव भएको, गाउँ गाउँमा रेमिट्यान्स बन्द हुँदा , दैनिक गुजारा चलाउन समस्या परेपछी रोगको प्रवाह नगरी भोक मेटाउन मानिसहरु बैक धाउनु परेको बताएका छन् । सबै मानिसको कारोबार बैकमा निर्भर भएको छ, घरमा राखेको पैसा सकिएपछी बैक खुलेपछी चेक साट्न आएको तानसेनकी गृहणी सितादेवी पन्थीले बताईन् ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसविआई बैंकहरुमा मानिसको बढी भिडभाड बढेको छ । राष्ट्रिय वाणिज्य तथा नेपाल बैंकमा पुर्व कर्मचारीहरुको पेन्सन झिक्न, विभिन्न फर्म तथा व्यक्तिहरुले सरकारी राजश्व, बुझाउन, विभिन्न कार्यालयका योजनाका रकमहरु झिक्न मानिसहरु विहानै देखी लाईनमा बस्ने गरेका छन् । भारतीय भुपु सैनिकको परिवारको पेन्सनको कारण नेपाल एसवीआई बैकमा पनि भिड बढेको छ । समान्य अवस्थामा पाल्पामा दैनिक करोडौको रेमिट्यान्सको कारोबार हुँदै आएको छ ।

पाल्पामा दैनिक विहान ७ बजे देखी ९ बजे सम्म २ घण्टा मात्र सञ्चालन हुदै आएका तरकारी, मासु तथा फलफुल, किराना पसल पनि १ घण्टा बढाएर १० बजेसम्म सञ्चालन भएका छन् । बैंक तथा अत्यावश्यक पसलहरु दैनिक ३ घण्टा सञ्ंचालनमा आएपछी बजारमा मानिसको चहल पहल बढेको हो । पाल्पाम आउदो जेठ ३१ गते सम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update