Shittalpati
रामपुरका महिलालाई चप्पल बनाउने तालिम

पाल्पा, जिल्लाको रामपुरका महिलाहरुलाई चप्पल बनाउने सीप विकास तालिम दिइएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा ९ मा ६ दिने चप्पल बनाउने सीप विकास तालिम दिइएको हो ।

रामपुर नगरपालिकाको आयोजनामा भएको तालिमको मंगलबार एक कार्यक्रमका विच समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भर संगै आर्थिक समृद्धि हुने बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपको उच्चतम प्रयोग गरी व्यसायिक बन्न आग्रह गर्नुका साथै उनले चप्पल उत्पादन गरे यसको बजारीकरण र प्रचार प्रसारमा नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिका वडा ९ का वडा अध्यक्ष डिलबहादुर रानाले तालिम पश्चात ज्ञान सीपको सदुपयोग गर्दै व्यक्तिगत वा सहकार्यको माध्यमबाट चप्पल उत्पादनको उद्यम शुरु गर्न आग्रह गरे ।

यस्तै रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा उद्यम विकास कार्यक्रम अनुगमन समितिका सदस्य मायादेवी नेपालीले धेरै तालिम सञ्चालन गरे पनि व्यवहारमा कमैले उतार्ने गरेको बताउँदै व्यवसायिक रुपमा चप्पल उत्पादन गरेर खरिद गर्ने अवसर प्रदान गर्न आग्रह गरे । भानुभक्त माध्यमिक विद्यालय रामपुर ९ जब्गादीमा ६ दिन सम्म चलेको तालिमको सहजीकरण शोभा कंडेल तिम्सिनाले गरेकी थिइन् । तालिममा वडा भित्रका १९ जना महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । रामपुर नगरपालिका वडा ९ का अध्यक्ष डिलबहादुर रानाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानको प्रमुख आतिथ्यता र उद्यम विकास कार्यक्रमका महेन्द्रप्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update