Shittalpati
खोपमा सरकारको अर्जुनदृष्टि

बहुमतको सरकार ढलेपछि अहिले परमादेशबमोजिम सरकार गठन भएको छ । नेपाली काँग्रेसका सभापति शेरबाहदुर देउवाको नेतृत्वमा सरकार बनेको छ । १ सय ६५ सांसदको विश्वासको मतका आधारमा यो सरकार बनेको हो । केपी ओली नेतृत्वको सरकारबाट आजित भएका जनताहरुले वर्तमान सरकारबाट ठूलो आशा र भरोषासमेत गरेका छन् । आमजनता कोरोना भाइरस संक्रमणबाट प्रभावित भएका छन् । धेरै जनता कोभिडबाट संक्रमित बनेका छन् भने कयौंले ज्यान समेत गुमाएका छन् । यस्तो अवस्थामा अभिभावको रुपमा रहेको सरकारबाट जनताले स्वास्थ्य सुरक्षाको अपेक्षा र आशा गर्नु स्वाभाविक नै हो । वर्तमान सरकारले जनताको अपेक्षालाई मध्यनजर गरी पहिलो प्राथमिकता कोरोना नियन्त्रणलाई नै दिएको छ । यो आफैमा सकारात्मक छ ।

हालको सबैभन्दा ठूलो चुनौती भनेको कोराना महामारीको नियन्त्रण नै हो । त्यसैले सरकारले यसतर्फ विशेष ध्यान दिनु उसको पहिलो कर्तव्य पनि हो । सम्भवतः यसैलाई हृदयंगम् गरी सरकारले स्वास्थ्य क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखेको बुझिन्छ । प्रधामन्त्री शेरबहादुर देउवाले पनि सबै नागरिकहरुलाई खोप जति महंगो परे पनि छिट्टै उपलब्ध गराउने बताएका छन् र सोही अनुसार काम पनि अगाडि बढेको छ । पछिल्लो पटक अमेरिकाबाट आएको केही मात्राको जोनसन एण्ड जोन्सन् खोप र चीनबाट हालै ल्याइएको भेरोसिल खोप सरकारले यतिबेला प्रयोगमा ल्याएको छ । कोरोनाको यही माहामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नसक्ने स्वास्थ्य मन्त्रीको माग जनताले गरेका हुन् । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले पनि आफूले कार्यभार सम्हालेकै समयमा कोरोना महामारीको नियन्त्रणका लागि खोप आफ्नो प्राथमिकता रहने बताएका छन् । अनेकौँ चुनौतीलाई चिर्दै आफ्ना सम्पूर्ण नागरिकलाई छिटोभन्दा छिटो खोप लगाउने विषयमा सरकारले देखाएको अर्जुनदृष्टि आफैंमा शुभ कार्य हो । सबैको आशाको नजर कोभिड–१९ प्रतिरोधक खोपतर्फ नै तेर्सिएको बेला सरकारले सबै नागरिकलाई पुग्ने गरी खोपको व्यवस्था मिलाउने कुराले राहत अवश्य दिनेछ  ।

 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update