Shittalpati
अवैध धन्दा बन्द गर

कोरोना महामारीका कारण मुलुक अप्ठ्यारो परिस्थतिबाट गुज्रिरहेको छ । सामाजिक र आर्थिक गतिविधिमा आएको परिवर्तनले नागरिकको दैनिकी बदलिएको छ । कोरोनाका नाममा भएको बन्दाबन्दीका कारण नागरिकले बितेको छ महिनामा ठूलो संकट व्यहोर्नु परेको छ । बन्दाबन्दीकै कारण कतिपयको ज्यान गइसकेको छ भने कति त घरबार विहीन समेत भएका छन् । यो क्रम अझै जारी छ र कहिलेसम्म रहला भन्ने निश्चित पनि छैन । राज्यले अपनाएका सुरक्षाका सबै मापदण्डहरूभन्दा यो संक्रमणको विस्तार झनै खतरनाक देखियो । यतिबेला त अस्पताल पनि नपाउने अवस्था छ । जतातातै बढ्दो अवस्थामा रहेको रोगले समातिहाले पनि कतैबाट सहानुभूति पाउने अवस्था छैन । संक्रमणबाट मुक्त भएकाहरूको अनुसार यो रोगसँग नितान्त एक्लो यात्रा गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा एउटा गिरोह यही अप्ठ्यारो परिस्थितिको मौका छोप्दै नक्कली सामग्री बेचेर सम्पत्ति आर्जनमा लागेको छ ।

कोरोना संक्रमण रोकथाममा आवश्यक ठानिएको स्यानिटाइजरमा समेत नक्कली र मानव स्वास्थ्यका लागि हानिकारक रसायन मिसाएर यस्ता गिरोहले बजारमा खुलमखुला बेचिरहेको छ । न्यून आय भएका वर्ग यस्तै कमसल सामग्री प्रयोग गर्न बाध्य छन् । नियमनकारी निकाय भने कानमा तेल हालेर बसेको छ । कोरोना संक्रमण फैलिएसँंगै मध्यमदेखि ठूला व्यापारीसमेत मास्क, स्यानिटाइजर लगायतका सामग्री उत्पादनतर्फ लागे । लकडाउनका कारण अन्य सेवा क्षेत्रका उद्योग तथा कलकारखाना खुलाउन नपाए पनि यी सामग्री उत्पादनमा सरकारी अवरोध नहुने देखेर उनीहरू यतातर्फ आकर्षित भएका छन् । सरकारी ध्यान कोरोना नियन्त्रणमा मात्र केन्द्रित रहेको मौका छोपेर उनीहरूले यस्ता सामग्रीको मनपरी मूल्य मात्र राखेका छैनन्, कमसल र विषाक्त कच्चा पदार्थ प्रयोग गरेर मनग्ये आम्दानी गरिरहेका छन् । यतिबेला देशभर स्यानिटाइजर उद्योगको संख्या तीन सयभन्दा बढी छरु। तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालनको अनुमति लिएका छन् । यसको अर्थ हो, बाँकी सबै अवैध रूपले  चलिरहेका छन् । यस्ता कमाउ धन्दामा लाग्नेलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update