Shittalpati
कोरोनाको बहानामा अन्य विरामीलाई सास्ती नदेऊ

नेपालमा कोरोना भाइरस अस्वाभाविक ढङ्गले वृद्धि भएको छ । जसले गर्दा देशभरका अधिकांश अस्पतालहरु कोरोना नियन्त्रणका लागि कोभिड अस्पतालमा रुपान्तरण भएका छन् । अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने बाध्यता पनि छ । तर, कारोना नियन्त्रण गर्नुमात्र अस्पतालको दायित्व होइन । यतिबेला अत्यावश्यक उपचार र गम्भीर प्रकृतिका रोग भएका बिरामी बाहेक सामान्य स्वास्थ्य समस्या हुँदा सकभर घरमै बसेर रोग विरुद्ध प्रतिकार गर्ने बानी परिसकेको छ । यसको मतलब अहिले गम्भीर समस्या नभई जोकोही अस्पताल नै जाँदैनन्, जसले गर्दा अस्पतालहरुको व्यवस्थापन गर्न सहज अवस्था छ । बिरामीका चाप घटेपछि निश्चय नै अस्पताललाई राहत भएको हुनुपर्छ । तर, विडम्बना के छ भने पछिल्लो समय अत्यावश्यक उपचार चाहिने बिरामीहरु स्वास्थ्य सेवाबाट बञ्चित भएका खबर दिनहुँजसो सार्वजनिक भइरहेका छन् ।

अधिकांश अस्पताल कोभिड अस्पतालमा रूपान्तरण गर्दा यस्ता बिरामीको उपचार कसरी गर्ने भन्नेतर्फ सरकार गम्भीर बनेको देखिँदैन । कोभिडको संक्रमण देखिएका तर अस्पतालमा नियमित जचाइरहनुपर्ने मिर्गौला, मुट, फोक्सो लगायतका संवेदनशील अंगसँग सम्बन्धित रोगका बिरामीलाई नियमित सेवा लिन सकस भएको छ । यसतर्फ न राज्यको ध्यान गएको छ न त अस्पतालहरूले नै तत्परता देखाएका छन् । कोरोना संक्रमितसँगै अन्य स्वास्थ्य समस्या देखिएका बिरामीलाई पनि तत्काल सेवा दिनुपर्छ भन्ने पक्षलाई सबै अस्पतालले बुझ्न जरुरी छ । सरकारीस्तरबाटै कडा निर्देशन दिएर कार्यान्वयन गरियो भने मात्रै लामो समयदेखि थलिएका बिरामीलाई न्याय मिल्छ । सरकारले केही समयअघि सबै अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको थियो । यसको अर्थ अन्य रोगका बिरामीलाई उपचार सेवा दिइरहेको अस्पतालले छुट्टाछुट्टै वार्ड बनाएर दुवैथरी बिरामीलाई सेवा दिनुपर्छ भन्ने हो । तर त्यसो हुन सकिरहेको छैनन् । अस्पतालले अन्य रोगका बिरामी भर्ना नलिएको, उपचार गर्न नमानेको, अस्पताल चहार्दाचहार्दै बिरामीको ज्यान गएकोजस्ता घटनाले अस्पतालहरुमा लापरबाही भएको प्रष्ट हुन्छ । तसर्थ सरकारले कोरोना बहानामा अन्य विरामीको उपचार नगर्ने अस्पतालहरुलाई तत्काल कारबाहीको दायरामा ल्याई सबै विरामीहरुलाई सहज उपचारको वातावरण सिर्जना गरिदिनतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update