Shittalpati
चलचित्र पत्रकारिता र इतिहास

नेपाली चलचित्र पत्रकारिता हिन्दी चलचित्र ‘औलाद’को समीक्षाबाट शुरु भएको मानिन्छ । ‘सिनेमा’ पत्रिकामा २०११ सालमा उक्त फिल्मको समीक्षा प्रकाशित भएको थियो । नेपालमा चलचित्रको विविध पक्षलाई समेटेर लेखिएको पहिलो लेख भने ‘सिनेमा र यसको प्रयोग’ हो । साहित्यकार एवं वरिष्ठ साहित्य समालोचक स्व. कृष्णचन्द्रसिंह प्रधानले लेखेको उक्त लेख ‘सिनेमा’ पत्रिकामा नै छापिएको थियो ।

पछि ‘सिनेमा’ पत्रिकाले बाहेक अन्य केही पत्रिकाले पनि चलचित्र सम्बन्धी समाचारलाई स्थान दिन थाले । पत्रिकामा नै चलचित्रको पूरै कथा प्रकाशित गरी सर्वसाधारणलाई चलचित्रप्रति आकर्षित गराउने काम गरिन्थ्यो । नेपाली चलचित्र उद्योगले पाँच दशकको यात्रा गरिसक्दा चलचित्र पत्रकारिता क्षेत्र भने त्यो भन्दा पुरानो थियो । नेपालमा चलचित्र न बन्दा पनि चलचित्रका समाचारमा कलम चल्ने गर्थे । जुन अहिले पनि उत्तिकै सक्रिय रहेको छ । पत्रपत्रिका, टेलिभिजन तथा अन्य सञ्चारका माध्यमहरू सुरु नहुँदा पनि विभिन्न माध्यमबाट एक अर्कोमा सूचना सम्प्रेषण गर्ने गरिन्थ्यो ।

सञ्चारका विभिन्न माध्यम हुँदै कागजमा छपाई गरेर पढ्ने नै विश्वजगतमा सबैभन्दा बढी प्रचलित रह्यो भने विद्युतीय सञ्चार माध्यम पनि त्यतिकै शसक्त रहेको छ । अझ पछिल्लो समयमा त सामाजिक सञ्जालको बाढीले यसलाई अझ विस्तृत बनाइदिएको छ । प्रजातन्त्र स्थापना भएको दुई दशक नबित्दै नेपालमा चलचित्र पत्रकारिताले सम्मान योग्य फड्को मारिसकेको छ । प्रविधि अकल्पनीय गतिमा अगाडि बढिरहेको छ । पछिल्लो दशक प्रविधिको दशक बनेको छ । न्यू मिडियाको विकाससँगै चलचित्र पत्रकारिताले पनि ठूलो फड्को मारेको हो भन्दा दुई मत छैन ।

पत्रिका र काँचको पर्दामा सीमित समाचार अहिले हरक्षण सबैको हात हातमा पुगेको छ । चलचित्र सम्बन्धी न्यूज पोर्टलमात्र पचासौंको संख्यामा छन् भने अनलाइनमा भिडियो पत्रकारिताले पनि उत्तिकै प्रभाव पारिरहेको छ । समाचारलाई भिडियो सामग्रीको रूपमा हेर्न अहिले भित्तामा टाँगिएको टेलिभिजनकै मात्र भर पर्नु पर्दैन । सूचना र समाचारका लागि निर्धारित समय पर्खिनुपर्ने आवश्यक पनि न्यू मिडियाले टारिदिएको छ । विभिन्न अनलाइन तथा पत्रपत्रिकाले चलचित्र तथा कला सम्बन्धी छुट्टै पृष्ठमा नै स्थान दिइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update