
आजको समयमा समाजलाई सकारात्मक दिशामा अघि बढाउन युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । देशको जनसंख्याको ठूलो हिस्सा युवा वर्गमा पर्छ, जसले राष्ट्रको भविष्य निर्धारण गर्ने क्षमता राख्छ । तर, यो क्षमता तब मात्र अर्थपूर्ण हुन्छ जब युवाले आफ्नो सामाजिक उत्तरदायित्वलाई गहिरो रूपमा बुझेका हुन्छन् । सामाजिक उत्तरदायित्व भनेको केवल नियमपालन वा कर तिर्नु मात्र होइन, आफ्नो समुदाय, वातावरण, संस्कृति र आगामी पुस्ताप्रति उत्तरदायी हुनु हो ।
हाम्रा युवाहरूले शिक्षा, सीप र प्राविधिक ज्ञानको उपयोग गर्दै बेरोजगारी, मादक पदार्थ दुरुपयोग, लैंगिक हिंसा र वातावरणीय प्रदूषण जस्ता समस्यालाई सम्बोधन गर्न अग्रसर हुनु जरुरी छ । आजको डिजिटल युगमा युवा सामाजिक सञ्जाल र प्रविधिको सजिलो प्रयोगमार्फत जनचेतना फैलाउने, समुदायमा सेवा पुर्याउने र नीति–निर्मातामाथि सकारात्मक दबाब सिर्जना गर्ने सामथ्र्य राख्छन् । राजनीतिक र सामाजिक गतिविधिमा समेत युवाको सहभागिता जिम्मेवार र पारदर्शी समाज निर्माणतर्फको महत्वपूर्ण कदम हो । त्यसैले, युवा पुस्ताले समय, सीप र ऊर्जालाई केवल व्यक्तिगत लाभमा नभई सामूहिक हितमा लगाउनुपर्छ । परिवार, विद्यालय र राज्यका तर्फबाट पनि युवा क्षमतालाई सही दिशातर्फ डो¥याउने वातावरण सिर्जना गर्नुपर्छ । सामाजिक उत्तरदायित्वमा सचेत र सक्रिय युवा नै प्रगतिशील र न्यायपूर्ण समाज निर्माणका मुख्य आधार हुन् ।