Shittalpati
स्थायित्वमा जोड देऊ

नेपाली राजनीति जहिल्यै अस्थिर मात्र रह्यो । अस्थिर राजनीतिकका कारण सरकारमा समेत प्रभाव पर्दछ । जसले गर्दा सरकार पनि बारम्बार परिवर्तन हुने गरेका छन् । यसले विकास र समृद्धिमा ठूलो नकरात्मक प्रभाव पार्ने गरेको छ । बारम्बार सरकार परिवर्तन नै नेपालको अविकासको जड मानिंदै आएको छ । सरकारको स्थायित्वले मात्र विकासलाई तीव्रता दिन सक्दछ । सरकार बारम्बार परिवर्तन भयो भने विकासमा ठूलो असर पुग्नु दुखद् हो ।

अहिले नेपालमा राजनीतिक अस्थिरता मौलाउदै गएको छ । जसका कारण दुई महिना अघि बनेको सरकार परिवर्तन हुन पुुगेको छ । संघीय निर्वाचनपछि कसैको पनि बहुमत नआएपछि एमाले, माओवादी र अन्य साना दलहरु गठबन्धन गरी सरकार गठन भएको थियो । तर त्यो सरकार तीन महिना पनि टिक्न सकेन् । राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर नेकपा एमाले र नेकपा माओवादीबिच मतभेद सिर्जना भएपछि एमालेसहित साना दलहरु सरकारबाट बाहिरिए । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेससहित मदेशी दल र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी सरकार निर्माण गर्ने तयारीमा जुटेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत भएको छ । अब प्रचण्डकै नेतृत्वमा दश दलीय गठबन्धको सरकार बन्ने तयारीमा छ । सत्ता साझेदार दलबीच सत्ता सहकार्यलाई बलियो बनाएर जाने समझदारी भएपछि शासनमा केही हदसम्म स्थायित्व हुन सक्ने देखिएको छ तर अझै पनि सरकार परिवर्तन गर्ने र राजनीतिक अस्थिरता मच्चाउने खालका खेल पनि पर्दाभित्रबाट भइरहेका छन् । यो अत्यन्त दुखद् हो ।

मुलुक आर्थिक संकटमा गुज्रिरहेका बेला सरकार बनाउने र गिराउने खेलमा लाग्नु उचित हुन सक्दैन । यो अवस्थामा सबै दलहरु एक जुट भएर जनताको पक्षमा काम गर्नु राम्रो हुुन्छ । अहिलेको सरकारलाई पाँच वर्ष काम गर्ने वातावरण दिनुुपर्छ । राष्ट्रपति र उपराष्ट्रिपति निर्वाचनपछि सत्तारूढ दलहरु मिलेर जान सक्ने सम्भावना बढेको छ । यो आफैमा खुसीको कुरा हो । अहिले देशमा देखिँदै आएको राजनीतिक संक्रमणको तुवाँलो पनि केही हटेर जान थालेको हो कि भन्ने विश्वास पनि पैदा गरेको छ । अहिलेको आवश्यकता राजनीतिक स्थायित्व हो । जनताले पनि त्यही चाहेका छन् । त्यसैले अन्य स्वार्थ र तिकडम त्यागेर राजनीतिक स्थायित्व दिने दिशामा सबै राजनीतिक दलहरु लाग्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update