Shittalpati
डढेलो नियन्त्रणमा चनाखो बन

मौसम सुक्खा छ । हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो । विशेष गरी फागुन, चैत हावाहुरी लाग्ने र डढेलोको उच्च जोखिम हुने समय पनि हो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । बाढी, पहिरोजस्ता विपद्का बारेमा भन्दा जत्तिकै चासो र चिन्ता डढेलोका बारेमा नदेखिनु चिन्ताको विषय हो । यो विपद्लाई राज्य र नागरिक दुवैले बेवास्ता गरेका छन् । डढेलोबाट नियन्त्रणका लागि पूर्वतयारी र रोकथामका प्रयास हुन सकेका छैन । यो अत्यन्त दुःखको कुरा हो ।

वनपाखामा आगो लाग्न नदिने उपाय उपभोक्ता र स्थानीयले पनि अपनाउनु पर्छ । डढेलोका हकमा हुँदै आएको हेलचेक्र्याइँ भविष्यमा दोहोरिनु हुँदैन । जगजाहेर छ कि विश्व तापमान वृद्धिले संसारभर नै डढेलोको प्रकोप निम्त्याएको छ । जसबाट नेपाल अछुतो छैन । जसै डढेलो लाग्छ वा आगलागीका घटना हुन्छन्, धनजनको क्षति हुन्छ । वन्यजन्तुको ज्यान जान्छ । वायु प्रदूषण हुन्छ । हिउँद याममा औसतभन्दा कम पानी परिरहेको छ । वन जंगलमा डढेलो लाग्ने कारण त्यो पनि बनेको छ । हिउँदमा पर्नुपर्ने जति पानी परेको छैन । डढेलोकै कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । डढेलोबाट जोगिने हो भने त्यो जोखिमको पूर्वतयारी छिटै गर्नुपर्छ । डढेलोबाट बच्ने र बचाउने उपायको खोजी वा पूर्वतयारी गर्न ढिलाई गर्नु हुँदैन । प्राकृतिकभन्दा बेसी मानवीय कारणबाटै लाग्ने डढेलो नियन्त्रणको पहिलो उपाय भनेकै मानिसलाई सचेत बनाउने र सुक्खायाममा बढी होसियार बन्ने नै हो । यसर्थ यसतर्फ सरकारी निकाय बढी चनाखो हुन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update