Shittalpati
रविको अभिव्यक्ति अपरिपक्व र अराजनीतिक

रवि लामिछाने सञ्चारकर्म छोडेर नेपाली राजनीतिमा होमिएका एक नेता हुुन् । अहिले उनको व्यापक चर्चा छ । सकारात्मक वा नकारात्मक दुवै किसिमले रवि लामिछाने नाम नेपालीको ओठमा झुण्डिएको छ । राजनीतिक दलको दशकौं लामो राजनीतिलाई ६ महिनामै उछिन्न सफल भएर गृह मन्त्रालयको जिम्मेवारी पाएका कारण लामिछानेको नाम एकाएक चर्चाको शिखरमा पुग्यो । तर उनको नागरिकता विवादले भने उनको सफलताको फड्कोलाई एकाएक तल झारिदियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि विरुद्धको मुुद्धामा सर्वोच्च अदालतले फैसा गरेसँगै पार्टी सभापतिदेखि सांसद्, गृह तथा उपप्रधानमन्त्री पद समेत खोसियो । पछि प्रक्रिया अनुसार नेपाली नागरिकता त लिए तर त्यसको पूर्ण पाठ भने आइसकेको छैन । अर्कोतर्फ पासपोर्ट विवाद पनि कायमै छ । यति हुँदा हुुँदै पनि उनले पुुनः गृह मन्त्री पाउने अडान कायमै राखे । नागरिकता विवाद, पासपोर्ट र भिसाको प्रयोग सम्बन्धी आशंकाका बाबजुद उनले पुनः गृहमन्त्रालय नै खोजेका कारण पनि उनको चर्चा थपियो । यति मात्र होइन रविले गृह मन्त्रालय नपाएको झोकमा सरकारबाटै बाहिरिएर नेपाली पत्रकारिता माथि नै आक्रोस व्यक्त गरे । उनले आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमाध्यम र पत्रकारलाई लक्षित गर्दै दिएका अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भएको छ। उनले नेपाली पत्रकारिता क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार हो । उनका अभिव्यक्ति सर्वथा आपत्तिजनक र आलोच्य छ । प्रतिनिधिसभाको चौथो ठूलो दलका प्रमुखले सञ्चारमाध्यम र सम्पादक÷प्रकाशक लगायतमाथि यो तहको गालीगलौज गर्नु, अप्रमाणित लाञ्छना लगाउनु र ‘कारबाही गर्ने’ धम्कीमा उत्रिनु अनपेक्षितमात्र होइन, अपरिपक्क र अराजाीतिक अभिव्यक्ति पनि हो । यसले प्रेस स्वतन्त्रतामाथि ठाडो धावासमेत बोलेको छ । हरविकृति, विसंगीका विरुद्ध वकालत गर्नु समाचारमाध्यमको धर्म हो । आखिर लामिछाने स्वयं पनि हिजो मिडियामार्फत यसैगरी प्रश्नहरू सोधेर र जवाफदेही खोजेर लोकमा स्थापित भएका हुन् । भलै उनले अपनाएको शैली पत्रकारिताको मापदण्डभित्र थियो थिएन, त्यो बहसको छुट्टै पाटो हो । अहिले सार्वजनिक ओहोदामा पुगेपछि उनीतर्फ पनि स्वाभाविक रूपमा सवालहरू तेर्सिएका हुन्, त्यसप्रति उनले अस्वाभाविक उत्तेजना प्रकट गरिरहनु संगतिपूर्ण छैन । यसर्थ जिम्मेवार नेताका रुपमा रहेका रविले दिएका पछिल्ला अभिव्यक्तिहरु अपरिपक्क र अराजनीतिक जस्तो देखिएको छ । यसले उनलाई लोकप्रियताको एक खुड्किलो तल झारेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update