Shittalpati
कुष्ठरोगीलाई सम्मान गरौं

७० औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । दिवसको सम्बन्ध जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठ प्रभावित प्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिवद्ध थिए गान्धी । फ्रान्सका प्रसिद्ध मानवतावादी एमआर फेलोरियोले गान्धीबाट प्रभावित भई उनकै प्रेरणाबाट कुष्ठरोग दिवस मनाउन थालेका थिए । यस दिवसको अभियानको उत्प्रेरणाले विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभाव नियन्त्रण गर्ने प्रयास भएको छ । तर दिवस मनाउन थालेको यतिका वर्ष हुँदासम्म अझै पनि कुुष्ठरोगीहरुप्रति गरिने भेदभावमा भने कमी आउन सकेको छैन । कुुष्ठरोगीहरुलाई आफन्तबाट नै विभेद गरिएको छ । यो अत्यन्त दुःखको कुरा हो । समयै रोगको पहिचान गरी औषधि उपचार गरे निको हुने रोग भए पनि धेरैले यसलाई वेवास्ता गर्ने गरेका छन् । हाम्रो नेपाली समाजलले अझै पनि यो रोगलाई पूर्वजन्मको पाप भएको भन्दै अपमान गर्ने गर्दछन् । यो पूर्व जन्मको पाप होइन, एक किसिमको रोग मात्र हो । जुन औषधि उपचार गरे निको हुुन्छ ।

रोग निवारणमा सरकारले प्राथमिकता नदिँदा संसारकै सबैभन्दा पुरानो मानिएको यो रोगका बिरामी घट्नुको साटो बढिरहेका छन् । यो आफैमा दुःखद् हो । नेपालमा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जान सकिएको छैन । कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अङ्गभङ्ग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन । कुष्ठरोग बहु औषधी उपचार विधिबाट निको हुने रोग हो । यसको नियन्त्रण र उल्मूलनतर्फ स्वास्थ्यकर्मी, यससँग सम्बद्ध संघसंस्था, समाजसेवी क्रियाशील रहँदै आएपनि लक्ष्यमा पुग्न अझै धेरै गर्न बाँकी छ । त्यसैले यस रोगलाई हेलचक्राईंको रूपमा नहेरी कार्यक्रम विस्तार गर्दै थप प्रतिफल उन्मुख बनाउन आवश्यक छ । कुष्ठप्रभावित आर्थिक, मानसिक र शारीरिक रूपले अझै पीडित छन् । कुष्ठरोगको न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभावको अन्त्य आजको आवश्यकता हो । यसतर्फ सबैले मनन् गर्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update