अन्तर्वार्ता

‘सबैसँग सहकार्य गरेर काम गरेका छौं ’

Shittalpati Reporter

विगत चारवर्षदेखि स्थानीय तहका सरकार गठन भएर काम गरिरहेका छन् । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । एकाध ठाउँमा निकै रचनात्मक किसिमले काम गरिरहेको देखिए पनि अधिकांश ठाउँमा जनअपेक्षा अनुसार स्थानीय सरकारले परिणाम दिन नसकेको गुनासो सुनिएको छ । यसै सन्दर्भमा गुल्मीको स्थानीय तह छत्रकोट गाउँपालिकाको नेतृत्व मधुकृष्ण पन्तले गर्दै आएका छन् । इमान्दार, संघर्षशील र विकासप्रेमी नेताको रूपमा परिचय बनाउन सफल अध्यक्ष पन्तले छत्रकोट गाउँपालिकाको नेतृत्व सम्हालेको चारवर्ष पुगेको छ । यस बीचमा उनले पृथक विकास आयोजना अघि बढाएका छन् । केही नयाँ योजनाको रूपरेखा पनि तय गरिसकेका छन् उनले । वर्षौंदेखि अल्झिएका विकासका कामलाई निरन्तरता दिन उनी निकै नै क्रियाशील छन् । आगामी योजना र हालसम्म गरेका गतिविधिको सेरोफेरोमा रहेर गाउँपालिका अध्यक्ष पन्तसँग नवजनचेतना दैनिकका गुल्मी संवाददाता रमेश विश्वकर्माले गरेको कुराकानीको संपादित अंश ।

१. स्थानीय तहको निर्वाचन भएपछि गाउँपालिकामा कसरी काम गर्नुभएको छ ?

- स्थानीय तहको निर्वाचन पछि गाउँपालिकामा विकास निर्माणका काममा सबैसँग समन्वय र सहकार्यका साथ काम गरेका छौं । हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दल सबै मिलेर काम गर्दै आएका छौं ।

२.तपाईँ निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका मुख्य–मुख्य उपलब्धि के–के हुन् ?

- खानेपानी, विद्युत (काठका पोल विस्थापित गर्ने), शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई विशेष प्राथमिकतामा राखेर काम गरेका छौं । टोल–टोलमा मोटरबाटो पुर्‍याउने, सडकको स्तरोन्नती गर्ने काम गरिरहेका छौं । शिक्षा क्षेत्रमा विद्यालय भवन बनाउने, स्वास्थ्य चौकी भवन १, २, ३ र ४ वडा कार्यालयमा पक्की भवन ५ र ६ मा पक्की भवन निर्माण भैरहेको छ । पक्की भवन कृषि पशुको भवन वडा नं.३ मा निर्माण भई कार्यालय सञ्चालन छ । गाउँपालिका आफ्नै भवनमा सञ्चालित छ । आर्थिक वर्ष २०७५/०७६ लाई पानी वर्ष, आर्थिक वर्ष २०७६/०७७ लाई सडक स्तरोन्नती वर्ष, आर्थिक वर्ष २०७७/०७८ लाई कृषि वर्षको रुपमा घोषण गरी काम गरेका छौं । कृषिमा किसानहरुलाई ट्याक्टर वितरण, बीउ वितरण, बिरुवा उपलब्ध गराउने लगायतका कार्यहरु गर्दै आएका छौं । अहिले हामीले बाँझो जग्गा व्यवस्थापनको काम अगाडि बढाउने क्रममा ६० रोपनी जग्गामा चक्लाबन्दीको काम सकिएको छ भने त्यस बाहेकका अन्य काममा पनि लागेका छौं । कृषिमा हर्दिखोला करिडोर क्षेत्रमा सहकारीमार्फत कार्य भईरहेको छ । अन्य क्षेत्रमा समेत कृषि करिडोर बनाउने योजना छ । शिक्षाकोे गुणस्तर वृद्धि गर्नको लागि विज्ञ समेतको सहभागितामा तालिम सञ्चालन गरेका थियौं । अहिले कोभिड—१९ को कारणले गर्दा त्यस्तो गर्न सकिएका छैनौं । तर पनि हामीले समय–समयमा प्रधानाध्यापक शिक्षकहरुसँग छलफल, विद्यालय व्यवस्थापन समितिसँग परामर्र्श, गाउँ शिक्षा समितिको बैठक बस्ने गरी कार्य गरेका छौं । स्वास्थ्य संस्थाबाट सहज ढङ्गले सेवा पुगोस् भनेर स्वास्थ्यकर्मीसँग छलफल मिडिया र वडा–वडामा पुगेर माइकिङ गर्‍यौं कोभिड—१९ को विषयमा नागरिकहरुलाई सचेत बनाएका छौं । हामीले सचेतनामूलक काम गर्दै आएका छौं । प्राथमिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी भवन ३ र निर्माणको क्रममा १ र सामुदायिक स्वास्थ्य इकाई भवन ५ निर्माणाधिन छन् । स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री यथेष्ठ प्रबन्ध मिलाएका छौं ।

३. कोभिड–१९ को माहामारीलाई नियन्त्रण गर्न गाउँपालिकाको कस्तो भूमिका छ ?

- कोभिड–१९ को यो माहामारीलाई नियन्त्रण गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, देश तथा विदेशमा रहनुभएका छत्रकोट बासीहरु सबै एकताबद्ध भएर लागेको छौं । स्वास्थ्यकर्मीहरुलाई अगाडि बढेर काम गर्नमा प्रेरित गर्नुका साथै, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनमा ध्यान दिएका छौं । म स्वास्थ्यकर्मीहरुको प्रसंशा गर्दछु । किनकी यहाँका स्वास्थ्यकर्मीहरु निकै मेहनतपूर्वक खट्नुभएको छ । केन्द्र र प्रदेश सरकारको पनि सहयोग छ । त्यस्तै देश तथा विदेशमा रहनुभएका छत्रकोटबासी नागरिकहरुले माहामारीको समयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन सहयोग गर्नुभएको छ । अहिले हामीसँग ३१ थान अक्सिजन सिलिन्डर, ११ थान अक्सिजन कन्सन्ट्रेटर सबै स्वास्थ्य चौकीमा सिलिण्डर सहित वेडहरु कोभिड–१९ को लागि निर्माण ग¥यौं । यस पटक होम आइसोलेसनमा बसी स्वास्थ्यकर्मीको सल्लाह लिने काम धेरै प्रभावकारी रह्यो । विगतको अनुभवले अहिले यस्तो गर्न सिकायो ।

४. गाउँपालिका र प्रदेश बीचको सम्बन्ध कस्तो छ ?

-गाउँपालिका र प्रदेश सरकार बीचको सम्बन्ध सुमधुर छ । प्रदेशका मूख्यमन्त्री ज्यू, लागयत मन्त्री, प्रदेश सांसद, कर्मचारी सबैसँग राम्रो छ । प्रदेशबाट राम्रै सहयोग भएको छ ।

५. नागरिकले संघीयताको महसुस गरेका छन् त ?

- संघीयता हाम्रो प्रारम्भिक अभ्यास हो, वहस चलाइरहनु पर्छ । नागरिकको अपेक्षा सबै कामहरु सरकारले गरिदियोस् भन्ने तिर बढेको छ । अधिकारयुक्त स्थानीय तह भए पनि विषयगत दक्ष जनशक्ति अभावले समयमा र दीर्घकालिन प्रभाव दिने काम गर्न अप्ठेरो भएको मैले महसुस गरेको छु । तर नागरिकले संघीयताको प्रतिफल पर्याप्त पाएका छन् । संघीयताकै कारण संघीयता पश्चात बनेका तिनै तहका सरकारले गरेको काम विगतको भन्दा धेरै मात्रामा परिणाम निस्कीसकेको छ । जुन—जुन जनताका आधारभुत आवश्यकता र पूर्वाधारका क्षेत्रमा देखिसकेका छन् ।

६. सबै अधिकार स्थानीय तहमा आउँदा कार्यसम्पादन कस्तो भएको छ ?

-अहिलेसम्मको कार्यसम्पादन राम्रै गरेका छौं । तर सबै स्थानीय तहमा पर्याप्त कर्मचारी नहुनु । प्रमुख प्रशासकीय अधिकृत छिटो–छिटो सरुवा हुनु । स्थानीय तहको आफ्नै आम्दानीको स्रोत पनि कम हुनु । सम्बन्धित विज्ञहरुको कमी रहनु संस्थापक संघीयता पछिको पहिलो स्थानीय सरकार हुनुको कारण ऐन कार्यविधि बनाउने, कार्यालयका संरचना बनाउनुपर्ने, जनताका लामो समय देखी संगालिएका अपेक्षा पुरा गर्नुपर्ने दायित्वका कारण व्यवस्थापनमा लाग्न धेरै क्षेत्रमा ध्यान दिनुपर्ने भएता पनि हामीले परिभाषित कामको जिम्मेवारी पुरा गरेका छौं । यो हाम्रो विश्वास छ निरन्तर नथाकी लागिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।

७. अन्त्यमा...

 – लामो समयसम्मको नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने आजको आवश्यकता हो । जनप्रतिनिधि एक्लैले सबै काम गर्न सक्दैनन् । यसका लागि सबै नागरिकको साथ सहयोग चाहिन्छ । नागरिकले हरेक काममा साथ दिनुपर्छ । गलत कामका लागि खबरदारीसँगै बिग्रिएको ठाउँमा सच्याउने मौका दिनुपर्छ र राम्रो काम गर्दा प्रोत्साहन गर्नुपर्छ । आमनागरिक र जनप्रतिनिधि बीच नङ र मासु जस्तो सम्बन्ध हुनुपर्छ । धन्यवाद ।

 

 


प्रकाशित मिति: सोमवार, असार ७, २०७८, ०५:४५:००
प्रतिक्रिया दिनुहोस्