Shittalpati
कुमारी र एनसीसी बैंकले गरे एकीकृत कारोबार

पाल्पा, कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । उनीहरुले आइताबारदेखि एकीकृत कारोबार गरेका हुन् । दुवै बैंक बीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । ‘कुमारी बैंक लिमिटेड’का नामबाट अब यी दुवै बैंकको कारोबार भएको छ ।

मर्जर सम्झौता अनुसार दुवै बैंकबीच शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ । अर्थात् एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर संख्या थपघट हुने छैन । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौँ महानगरपालिका–२ स्थित टंकलालमा रहेको । पुस १५ र १६ गते एकीकृत कारोबार गर्न डाटा माइक्रेसन प्रयोजनका लागि दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवा प्रभावित भएको थियो । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बनेका छन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत भएका छन् । एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड, कूल निक्षेप तीन खर्ब दुई अर्ब र कर्जा दुई खर्ब ८० अर्ब पुग्नेछ । गाभिएपश्चात् शाखा संख्या तीन सय छ, एटिएम संख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुगेका छन् ।

यस्तै मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति पनि गठन भएको छ । नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा रहेका छन् । बैंकको सञ्चालकमा एनसिसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update