Shittalpati
लोक सिर्जनामा पाल्पालीको शान

विष्णु घर्ती ‘भनभनेली’
१) पृष्ठभूमि :
पाल्पा हुनुको पहिचान धेरै छन् । पहिचानका पदचाँप अनन्तः सम्म रहिरहन्छन् । लोकमय लालित्यका लहर कम्तिका छैनन् । यही लोकका मौलिक सिर्जना हाम्रा अनन्य चिनारी बनेका छन् । लोक भनेको समाज हो । समाज लोप हुन शदियौं लाग्ला । लोकको स्वरुप र परिभाषा फरक–फरक हुन सक्छ । समाज वा लोकलाई लोभलाग्दो बनाउने तरिका परिवर्तित समय अनुसार फरक बन्न सक्छन् । लोक जीवनमा विभिन्न खालका परिघटनाहरू एक पछि अर्को गर्दै पार भई रहन्छन् । यस्ता परिघटनाहरूका परिदृष्यमा लोक सुहाउँदो सुर र तालको संगम हुन्छ । यसै संगममा उभिएर लोक सिर्जनाहरू सजाउन सकिने स्थिति बन्दछ । समसामयिक लोक सिर्जनाहरू कालजयी बन्दछन् । कालजयी सिर्जनाहरू लोक जीवनका परिघटनाका रुपमा प्रतिविम्बित भई रहन्छन् । लोक सिर्जना त्यसै हुँदैन । साधना निरन्तर चाहिन्छ । साधनाले इच्छाएको विषयमा पुग्न सार्थक रुपमा साथ दिन्छ । यसरी सार्थकताले नै शानको एउटा मजवुत आधारशिला निर्माण गर्दछ । सिर्जनाको गर्भमा अनेक खालका प्रेरक तत्वहरू अन्तरनिहित रहेका हुन्छन् । थुप्रै खालका प्रेरणाको स्रोतमध्ये मूख्य स्रोतको रुपमा लोक समाजलाई नलिने स्रष्टा सायद होलान् । लोक जीवनमा आधारित सिर्जनामा पे्ररणा रुपी लोक शव्द, लोक लय र लोक संगीतको माधुर्यताले समाजका हरेक पक्षमा बास गर्दछ । मानव जीवनका प्रत्येक कालखण्डहरू बालकदेखि बृद्धसम्म र प्रत्येक अवस्था सुखदेखि दुःखसम्म साथमा साथ दिने भनेकै सम्बन्धित स्थानको लोक सिर्जनाहरूले नै हो । लोकप्रिय हुनका लागि लोकको साथ अनिवार्य छ । लोकका सिर्जनालाई माया गर्नेहरू नै जीवन्त र लोकप्रिय हुन सक्छन् ।

२) लोकको पहिचान :
लोक सिर्जनाहरू जीवनका अन्तरङ्गसँग आत्मसाक्षीका रुपमा पनि खडा भएको पाइन्छ । एक्लो वा सामुहिक जुन अवस्थामा पनि यस्ता सिर्जनाहरू अभिन्न मित्रका रुपमा आइरहेका हुन्छन् । गुनगुनाएर वा कुनै माध्यमद्वारा प्रस्तुत गरेर पनि यसको प्रयोग गर्न सकिन्छ । वीरता, करुणा, प्रेम, क्रोधलगायत नव रसमा व्याप्त लोक सिर्जनाको फाँट जति फराकिलो छ, त्यति यसको छहारी पनि फैलदो स्थितिमा छ । पश्चिम क्षेत्रमा बढी मात्रामा लोक भाका, लोक लय, लोकबाजा आदिको उत्पत्ति र परिमार्जन हुन्छ भने अन्य क्षेत्रमा यसको विस्तार तथा प्रयोग अझ बढिरहेको स्थिति छ । कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमहरूमा लोक सिर्जनाको सबैभन्दा बढी प्रयोग भएको पाइन्छ । लोक सिर्जनाहरूमा अनेक भाषा र स्थानीयता वा आँञ्चलिकता भएतापनि यस क्षेत्रको सिर्जना सर्वत्र स्थानहरूमा सर्व स्वीकार्यसरह भई फैलिएर रहेको छ । कुनै पनि यात्रा, महोत्सव, उत्सव, पार्टी, विवाह, पुजाआजा, मेलापर्व, पिकनिक जस्ता कार्य एवम् विविध खालका संस्कार संस्कृतिहरूमा समेत लोक सिर्जनाको अनिवार्यता प्रायः भइसकेको छ ।

३) सिर्जनाको शान :
स्थानीय स्तरमा सिर्जित कुनै पनि विषय वस्तुलाई स्थानीयताको संज्ञा दिनु उपयुक्त नै हो । यसरी लोक भनेको लोकल हो पनि भन्न सकिन्छ । सुदरपश्चिमको देउडा त्यस भेग वा लोकको सिर्जना हो । रोइला गीतको लागि गुल्मी उद्गम स्थल हो । देउसीको साटो भैलो खेल्ने स्थान पनि यही भूमि हो । सराँय नाँच र गीत पाल्पा, गुल्मी, अर्घाखाँची र वरपर क्षेत्रको लोक सिर्जना हो । यसरी जुन लोकमा जेको प्रख्याती हुन्छ, त्यहाँको लोक सिर्जना त्यही हो । स्थानीय लोक सिर्जनाहरू अनेक खालका हुन सक्तछन् । जस्तै: लोक भाका, लोक लय, लोक संगीत, लोक संस्कृति, लोक बाजा, लोक कथा, लोक गाथा आदि इत्यादि । एक स्थान विशेषमा उत्पत्ति भएको लोक सिर्जना सोही लोकमा मात्र सिमित नभएर वा नगराएर सबै लोक वा प्रदेशहरूमा फैलाउनु र फैलनुलाई पनि लोक सिर्जनाको आत्मियतामा आसन ग्रहण गर्न योग्य हुने क्षमताले पनि हो भनिन्छ । लोक सिर्जनाहरूले मानिस मात्र होइन पशु, पंक्षी, प्राणी वा सजिव वस्तुहरूको जीवनमा समेत धेरै हदसम्म प्रभाव पारेको अनुसन्धानका प्रतिवेदनहरू सार्वजनिक भइरहेको स्थिति पनि छ ।

४) शानको आत्म सम्मान :
शान भनेको मान, इज्जत, गौरव, पौरखको उचाई हो । छाती चौडा पार्दै उच्च मनोवलका साथ लोकप्रिय बनेको नूरलाई निर्धक्कका साथ प्रस्तुत हुन सक्ने अवस्था नै खास शान हो । अहिले आएर राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत लोक सिर्जनाहरूको उच्चस्तरमा अत्यन्तै महत्त्वका साथ प्रयोग र माग बढिरहेको छ । हरेक वस्तु वा समाज वा व्यक्ति वा संंस्थाको आप्mनै तवरको पहिचान बनेको हुन्छ र उक्त पहिचानलाई समय सापेक्ष बनाउँनमा सम्बन्धित् क्षेत्र, वर्ग, समुदाय, व्यक्ति दत्तचित भएकै हुन्छन् । पहिचानको अस्तित्वलाई कायम राख्न हर प्रकारका प्रयोगहरू पनि गरिरहन्छन् साधकहरू । उसको बनेको पहिचान उसैको शान हो । उक्त शानलाई सम्मान गर्न सक्नु अन्य सुभेच्छुकहरूको आत्मसम्मान हो ।

आत्मसम्मान आफ्नो आत्मालाई लागेका विषयमा खुलेर प्रशंसा गर्नु र उक्त प्रशंसा अरुका समक्ष प्रस्तुत गर्नु नै हो । कुनै पनि खालको शान पहिचानको चिन्ह हो । शानका विषय र क्षेत्र फरक फरक हुन सक्तछन् । सबै जना सबै शानमा आत्मसम्मान गर्न सक्दैनन् र जान्दैनन् पनि । हुन सक्छ कोही अधिक विषय वा शानमा दख्खल राख्ने खालको हुन सक्लान् तर निपूर्णता कमैमा हुन्छ । अधिकतम हुने कुरालाई कहिं पनि नर्कान सकिदैन । सामुहिक शानलाई आफ्नोजस्तै शान हो भनेर आत्मसम्मान गर्न सक्यो भने मात्र त्यो शानको खासमा सम्मान हुन जान्छ । आत्म गौरवसँग जोडिएको विषय नै शान हो भन्न सकिन्छ । व्यक्तिको शान समाजको पनि शान हो । समाजका हरेक शानहरू त्यस क्षेत्र, जिल्ला, प्रदेश र देशकै समेत शान हुन् । त्यसैले व्यक्तिका शानलाई सबैले सम्मान गर्नु आजको अपरिहार्यता हो ।

५) लोक रत्नहरू :
लोक लय, लोक भाका र लोक संगीतका सन्र्दभका कुराको उठान गर्दा हालसम्मको अवस्थामा पाल्पालीहरूको पहिचान अद्वितीय नै मान्नु पर्ने हुन्छ । यस कुराको पुष्टी यसै क्षेत्रमा भए गरेको उन्नति र प्रगतिहरूले गरिरहेका छन् । लोक सेवाको क्षेत्रमा उत्रनेहरू, समाज सेवामा लागेकाहरू, राजनैतिक चिन्तनमा तल्लिन महानुभावहरू, शिक्षा क्षेत्रका अग्रणीहरूमा जसरी पाल्पा र पाल्पालीहरूको शान सगरमाथासँगै दाँजिदै आएको छ । त्यसैगरि इतिहासदेखि नै लोक सिर्जनामा समेत सगरमाथाकोे शानभन्दा कम छैन । अझै भनौं, पछिल्ला दिनहरूमा त सबैका कर्णप्रिय र कष्ठप्रिय विषय वस्तुका रुपमा लोक सिर्जनाका लोक भाका, लोक दोहरी तथा लोक संगीतहरू जताततै भरिएर छताछुल्ल छन् । लोक सिर्जनाको अत्यन्तै उर्वर भूमिका रुपमा पाल्पाको शान दिन प्रतिदिन अग्लिदै गइरहेको स्थिति हो । हिजो यही पाल्पाली लोकका खोलानाला, मेलापात, मेलापर्व, चाडवाँडमा सिमित जस्तै लोक लय, भाका र संगीतलाई स्थापित बनाउने लोक रत्नहरू दिनप्रति दिन थपिदै आएका छन् । लोक रत्नहरूले रात दिन लगाएर गरेका रसिला र भरिला सिर्जनाहरू आजका अमूल्य सम्पत्तिका रुपमा स्थापित हुँदै आइरहेका छन् ।

६) लोक सिर्जनाका त्रिपुत्र :
गाउँघरको सेरोफेरोमा सिमित लोक भाका वा लोक लयका सिर्जनालाई रेडियो नेपालमार्फत सारा नेपालीका मनमनमा मृत्यु पर्यन्तसम्म अजर अमर बनाउन सफल गायक त्रय लक्ष्मण, नारायण र दुर्गा रायमाझी निश्चल र निर्मल लोक भाका वा लोक दोहोरीका प्रखर सगरमाथा नै हुनुहुन्छ । उहाँहरूकै समिप र सान्निध्यतामा धेरै प्रकारका लोक सिर्जनाहरूले हुर्कने, बढ्ने र पहिचानको अविस्मिरणीय शान बनाउने सुनौलो मौका पाइरहेका छन् ।

पाल्पाली लोक सिर्जनाको सन्दर्भलाई सरसर्ति नियाल्दा सूर्य रायमाझीका सुपुत्रहरू लक्ष्मण रायमाझी, नारायण रायमाझी र दुर्गा रायमाझीलाई लोक लयका त्रीपुत्रका रुपमा अँगाल्नलाई कुनै पनि किसिमको हिचकिचाहट मान्नु पर्ने अवस्था छैन । यिनै तीन बहादुरहरूले लोक सिर्जनामा गरेको बहादुरीपनले पाल्पाली लोक सिर्जनाको बलियो जग स्थापित भइसकेको छ । उक्त जगमा सोही अनुसारका ईंटाहरू सजाउने काम हालका सहयोद्धाहरूबाट सहर्ष रुपमा चलिरहेको पाइन्छ ।

पाल्पा हुनुको पहिचान धेरै छन् । पहिचानका पदचाँप अनन्तःसम्म रहिरहन्छन् । लोकमय लालित्यका लहर कम्तिका छैनन् । यही लोकका मौलिक सिर्जना हाम्रा अनन्य चिनारी बनेका छन् । लोक भनेको समाज हो । समाज लोप हुन शदियौं लाग्ला । लोकको स्वरुप र परिभाषा फरक–फरक हुन सक्छ । समाज वा लोकलाई लोभलाग्दो बनाउने तरिका परिवर्तित समय अनुसार फरक बन्न सक्छन् । लोक जीवनमा विभिन्न खालका परिघटनाहरू एक पछि अर्को गर्दै पार भइरहन्छन् । यस्ता परिघटनाहरूका परिदृष्यमा लोक सुहाउँदो सुर र तालको संगम हुन्छ । यसै संगममा उभिएर लोक सिर्जनाहरू सजाउन सकिने स्थिति बन्दछ । समसामयिक लोक सिर्जनाहरू कालजयी बन्दछन् । कालजयी सिर्जनाहरू लोक जीवनका परिघटनाका रुपमा प्रतिविम्बित भई रहन्छन् । लोक सिर्जना त्यसै हुँदैन । साधना निरन्तर चाहिन्छ । साधनाले इच्छाएको विषयमा पुग्न सार्थक रुपमा साथ दिन्छ । यसरी सार्थकताले नै शानको एउटा मजवुत आधारशिला निर्माण गर्दछ । सिर्जनाको गर्भमा अनेक खालका प्रेरक तत्वहरू अन्तरनिहित रहेका हुन्छन् । थुप्रै खालका प्रेरणाको स्रोतमध्ये मूख्य स्रोतको रुपमा लोक समाजलाई नलिने स्रष्टा सायद होलान् । लोक जीवनमा आधारित सिर्जनामा पे्ररणा रुपी लोक शब्द, लोक लय र लोक सङ्गीतको माधुर्यताले समाजका हरेक पक्षमा बास गर्दछ । मानव जीवनका प्रत्येक कालखण्डहरू बालकदेखि बृद्धसम्म र प्रत्येक अवस्था सुखदेखि दुःखसम्म साथमा साथ दिने भनेकै सम्बन्धित स्थानको लोक सिर्जनाहरूले नै हो । लोकप्रिय हुनका लागि लोकको साथ अनिवार्य छ । लोकका सिर्जनालाई माया गर्नेहरू नै जीवन्त र लोकप्रिय हुन सक्छन् । शुक्रबारको अंकमा यस लेखमा उल्लेख गरेका लोकको पहिचान, सिर्जनाको शान, शानको आत्म सम्मान,लोक रत्नहरू, लोक सिर्जनाका त्रिपुत्र लगायतका विषयमा उल्लेख गरिसकिएको छ । आजको अंकमा यही लेखको बाँकी विषयवस्तुका बारेमा यहाँ चर्चा गर्न लागिएको छ ।

७) त्रिपुत्रका सहयात्री :
यिनै त्रिपुत्रको हौसला प्रेरणा र शानलाई अझ उचोँ पार्नका लागि वर्तमानमा छ दर्जनभन्दा बढी युवा पुस्ताहरू पाल्पाका गाउँ, पाखा, पखेरा, खोला, नाला, पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय मञ्चमा समेत दीगो रुपमा फैलाउनका लागि कम्मर कसेरै लागेको पाइन्छ । यो जोश, जाँगर र उमँंगको साथमा पाल्पाली लोक सिर्जनाको ताजलाई अझ अग्ल्याउनका लागि गरिएका सार्थक मेहनत र परिश्रम हुन् भन्न सकिन्छ । पछिल्लो समयमा लोक सिर्जनालाई सजाउँन खोज्ने हस्थिहरूका हातहरू लोक सिर्जनाको ताल र सूरमा व्यस्त भइरहेका छन् । यस खालका प्रातःस्मरणीय लोक सर्जकहरूको लहर लामै देखिन्छ । हालसम्म देख्न सकिएको मालाका थुङ्गाहरू यस्ता रहेका छन् । लक्ष्मण रायमाझी, नारायण रायमाझी, दुर्गा रायमाझी, माधवलाल श्रेष्ठ, लोकेन्द्र थापा, मिन बहादुर राना, महेश पाल्पाली, देउराली सांस्कृतिक मण्डल (भरत, राजेन्द्र, महेश, मदन र किशोर), पुश्कल शर्मा, बद्री पंगेनी, इन्द्र जि.सी., कमला पोखरेल, प्रेम लामिछाने मगर, अमर भाट, कृष्ण रानाभाट, सेमन्तमणि खराल, लक्ष्मण पौडेल, नविन पौडेल, शिरीष देवकोटा, पुरुषोत्तम गैरे, सुमन गैरे, जय प्रकाश उप्रेती, अलिप खान, लक्ष्मी न्यौपाने, श्रीदेवी देवकोटा, कल्पना देवकोटा, शान्ति डोटेल, हुम गैरे, कमल भरूट्टराई, हुमु राना, सुरेश गैरे, कल्पना नेपाल, कमल खनाल, गणेश न्यौपाने, मोहन न्यौपाने, अर्जुन खड्का, चेतना थापा, मिलन खड्का, सपना गाहा मगर, शिव भट्टराई, डी. बी. कार्की, रमेशराज भट्टराई, बसन्ती सुनारी मगर, मिलन दिशा मगर, विधान कार्की, रूपेश कार्की, यशोदा कार्की, रूपा नेपाली, दीपिका बयम्बु मगर, ज्ञानु ठाडा मगर, यान प्रसाद न्यौपाने, श्रीकृष्ण क्षेत्री, नैना परियार, दिपेश परियार, पदम बि.सी., पुरन गाहा, रामकृष्ण थापा, प्रेम गैरे, बिमला गैरे, खेम राना, तारा लामिछाने, सुमित्रा कोइराला, जमुना राना, सुशील बस्याललगायत परेका छन् । यि नामहरू केवल प्रतिनिधि पात्रहरू मात्र हुन् । मेरो जानपहिचानमा आउन नसकेका पाल्पाली लोक सर्जकहरू थुप्रै हुनसक्नुहुन्छ । उहाँहरूको योगदानलाई पनि यस प्रसंगमा समेटनु नै पर्ने हुन्छ । यस खालका थप जानकारीहरूलाई अद्यावधिक गर्ने अवसर आउँदा पक्कै पनि समावेश गरिने नै छ । यात्रालाई अनवरत रुपमा साथ दिने सच्चा सहयात्रीका लोकमय सिर्जनाहरू नै सहयात्राका सही सूचकहरू हुन् ।

८) लोक फाँटहरू :
फाँट भनेको फराकिलो र उब्जाउशील स्थान हो । लोक सिर्जनाको पनि मलिलो फाँट सुन्दर र रमणीय माडी फाँटजस्तै रहेको छ । यस पाल्पा क्षेत्रमा अदम्य खालका सिर्जना तथा कृतिहरू निर्माण गर्ने थुप्रै विलक्षण प्रतिभाशाली मनिषीहरूको विचरण भएको पाइन्छ । उहाँहरूका सत्प्रेरणाहरू आजप्रयन्त अनुकरणीय तथा कालजयी रुपमा प्रज्ज्वलित भइरहेका छन् । संस्कृत साहित्यदेखि आजसम्म आइपुग्दा लोक श्रष्टाको छाप फराकिलो नमूनाको रुपमा फेला परेको छ । पाल्पा विशेष लोक क्षेत्रमा उत्पत्ति भएका चर्चित लोकप्रिय तथा कण्ठप्रिय लोक सिर्जनाका फाँटहरू लोक गीत, लोक दोहोरी, लोक सङ्गीत, लोक लय, लोक भाका, लोक संस्कृति, रोइला गीत, सालैजो, यानिमाया, सुनिमाया, तुरी खेल्ने, चुट्के लसके, भजन किर्तन, असारे (वाली) गीत, तिज गीत, सोरठी, मारुनी, भैलो, फागु, भलाय, रत्यौली, लोक बाजा, लोक संस्कृति, लोक नृत्य, लोक गाथा, लोक परम्परा, चाडवाड आदि पर्दछन् । विविध खालका संस्कार र संस्कृतिहरूले पनि लोक सिर्जनालाई मलजल प्राप्त भइरहन्छ । पाल्पाली आदिवासी जनजातिहरूका विविध खाले संस्कार, चाल चलन, रीति परम्परा, पर्वहरू, अहिले उक्त समाजमा रहने सबै वर्ग, जात र समुदायका पहिचानका तत्वका रुपमा अवलम्बन भइरहेका छन् । यस हिसाबले पनि आदिवासी जनजाति तथा गैर आदिवासी जनजातिहरूका लोक सिर्जनाहरूलाई समग्र लोक सिर्जनाका उर्वर र फराकिला फाँटका रुपमा देख्न सकिन्छ । विभिन्न स्थानमा प्रस्तुत हुने लोक सिर्जनाहरू प्राय पाल्पाली सिर्जना र सर्जकहरूका लोक थुङ्गाहरू प्रस्तुत हुने अवस्था छ । यस किसिमका रोइला, सराँय, भैलोजस्ता लोकप्रिय उत्पादनहरूको प्रयोग, प्रगति, परिमार्जन र विकास भइरहेको छ ।

९) शालिग्रामको शान :
लोक सिर्जनामा संघर्ष जोडिएको हुन्छ र साथ रहेको पनि । हामीले जस्तोसुकै ढुङ्गालाई आत्मसात गर्न सक्तैनौ तर पवित्र कालीगंगाको चरणमा प्राप्त शालिग्रामलाई हामी सोझै आत्मसात गर्दछौं । जुनीजुनीसम्म पुजा गरेर राख्दछौं । यसको अर्थ हामी पनि शालिग्राम जस्तै बन्न सक्नु पर्दछ वा बन्ने प्रयासमा लाग्नुपर्छ भन्ने हो । जसरी कालीगण्डकीको मुहान मुक्तिनाथ क्षेत्रमा होमिएका चुच्चाचुच्ची परेका ढुङ्गाहरू बग्दाबग्दै पावन क्षेत्र रूरूदेखि रामपुर क्षेत्रसम्म आइपुग्दा शालिग्राममा परिणत हुन्छन् । तिनै शालिग्रामको पुजा अर्चना हामी सबैले गर्दछौं । यसलाई साथमा राखियो भने यसको कथा, व्यथा र प्रेरणाले अगाडि बढ्नका लागि स्वतः सल्लाह सुझाव दिइनै रहन्छन् । अरु कसैलाई सोधिरहनु पर्दैन । जसरी शालिग्राममा कमजोर, चुच्चाचुच्ची र विकारका तत्वहरू नदीमा बग्दै जाँदा, वारी र पारी ठोक्किएर चम्किलो तथा रहरलाग्दो हुन्छ त्यसैगरी हामी लोक सर्जक तथा लोक पारखी दुबै यसै नदीमा बग्दै, ठोकिंदै तथा घोटिंदै जाँदा हसिला र फरासिला भएका छौं । लोक सिर्जना शालिग्रामजस्तै भित्री खास तत्व हो भने त्यसका वरिपरि वा बाहिरपट्टी आखै तिरमिराउने गरी विकृति, विस·ति, चुच्चाचुच्ची र विकारका वस्तुहरू बाक्लो गरी टालिएका पनि छन् । पखालिएका छैनन् । यसो गर्नका लागि यस्ता विकृत ढुङ्गाहरूलाई कालीगंगाको चरणमा होमिनु पर्दछ र रूरू क्षेत्रमा पर्खेर बसी सही लोक सिर्जनाका शालिग्रामहरूलाई छानेर हात लगाई पाल्पाली शानमा सजाइएको पर्दछ ।

१०) लोक सिर्जनाको माधुर्यताः 
हाल आएर पाल्पाली भूमि लोक कला, गला, सिप र सिर्जनाको संगम स्थलको रुपमा चित्रित हुन पुगिरहेको छ । हालका लोक सिर्जनाहरूमा अझ निखारता प्राप्त भइरहेको पनि छ । यहाँ सिर्जना भएका लोक सिर्जनाहरू अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा शालिग्राम सरह बन्न पुगिरहेका छन् । रस र रंगको लयात्मक लोक गीत चर्चित, सजिलो, मिठास र लोकप्रीय गीतमध्ये मानिन्छ । हाल विभिन्न क्षेत्रहरूमा लोक लयलाई प्रयोग र प्रवद्र्धन गरिदैछ । बाह्रमासे गीत अन्तर्गत जहिले र जहाँ पनि गाउन सकिने लोक गीत हो । तिर्सना मार्ने तिहारको भैलोको समयमा जताततै देउसी भैलो खेलेर रमाइलो गरिन्छ । यसमा महिला पुरुष दुबै खेल्दछन् । अन्यत्र पुरुषहरूले देउसी र महिलाहरूले भैलो खेल्ने वा भट्याउने प्रचलन छ तर यस क्षेत्रमा पुरुषहरूले भैलो गाउने वा खेल्ने र महिलाहरूले देउसिरे खेल्ने वा गाउने चलन रहेको छ । त्यसैगरी सराँय गीत पनि एक महत्त्वपूर्ण लोक सिर्जना हो । राष्ट्रियस्तरमा पनि महत्त्वपूर्ण स्थान लिदै आएको देखिन्छ । एक जाति वा समुदायका लोक मान्यता तथा सिर्जनाहरूलाई अर्को जाति वा समुदायले सहर्ष रुपमा स्वीकार्दै परिस्कार गर्ने अवरसर समेत प्रदान गरिरहेका छन् । पाल्पामा अवस्थित विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक, शैक्षिक स्थल, लोक परम्परा, लोक मान्यता आदिको कारणले पनि लोक सिर्जनाको माधुर्यतालाई अझ सुमधुर पार्दै फैलाउँने अवसर जुरेको अवस्था पनि छ ।

११) साथमा साथ :
लोक सिर्जनाहरू उम्रने र फक्रने वातावरण भइरहेको अवस्थामा उक्त लोक सिर्जनालाई मलजल, संरक्षण, प्रचार प्रसार, उचित प्रयोग, परिमार्जन तथा पुनरोत्पादनमा चिन्तन मननका साथ लागिरहने संस्कृति र संस्कारजन्य क्रियाकलापहरू नै लोक जीवनलाई जीवन्त तुल्याउँने माध्यमहरू हुन । लोक जीवनमा लोक सिर्जनाहरूको व्यवस्थित उपयोग आजको आवश्यकता पनि हो । यस कार्यमा सबैले होस्टेमा हैस्ये नगरी हुँदैन । लोक जीवन र लोक सिर्जनाका सहयोगी एवम् सहयात्रीहरू व्यक्ति, समाज, राष्ट्र सबैले आफ्नो परम् कर्तव्य सम्झेर अगाडि बढेको खण्डमा मात्र आजको लोक दुनियाको शान भोलिका दिनहरूमा अझ बढेर र फैलिएर जाने कुरामा कुनै दुई मत रहन सक्तैन । पहिचानका विभिन्न तत्वहरूमध्ये लोक सिर्जना सबैका माझमा लोकप्रिय भएर बसिरहने हुनाले कुनै पनि लोकको लोप नहुँदासम्म लोक सिर्जनाहरू अजर र अमर भएर बसिरहने छन् । लोभ, लालच र इश्र्यामा नलागी गरिएको लोक सिर्जना साँच्चिकै लोकप्रिय बन्ने नै छ । यसमा सबैको साथ रहदा मेरो साथ नरहने कुनै तुक छैन भन्ने मेरो बुझाई हो । हामी सबैले लोक सिर्जनालाई बुझौं र बुझाऔं । लोकलाई सुहाउँदा सिर्जना सकेसम्म गरौं र सबैक्षेत्रतिर फैलाउँदै जाऔं । यसैमा सबैको सुन्दर, सुशील र शानयुक्त लोक जीवनको अस्तित्व र भविष्य समेत अन्तरनिहित रहेको पाइन्छ । लोकलाई लोप हुन नदिने मूख्य आधार नै लोक सिर्जनाहरू हुन् । त्यसैले यिनीहरूको सही संरक्षण र सम्वद्र्धन गर्नु नै हामी सबैको शानलाई स्थापित गर्नु हो । स्थापित उक्त शानलाई अझ चम्किलो पार्नु परम् कर्तव्य, जिम्मेवारी र दायित्व समेत हो ।
सन्दर्भ सामग्री :
ज्ञवाली राम, २०७८ चैत्र, पाल्पामा लेखन र सिर्जना, पोखराथोक साहित्य संगम, पाल्पा ।
(लेखक बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update