Shittalpati
आनन्द सहकारीको अध्यक्षमा पुनः बज्राचार्य

पाल्पा, आनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सर्जुलाल बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको सहकारीको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले बज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको हो । सहकारीमा लामो समय कूूशल नेतृत्व प्रदान गर्दै आएका बज्राचार्य आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनले सहकारीको उपाध्यक्षमा सरोजलाल शाक्यलाई निर्विरोध निर्वाचित गरेको छ । शाक्यले पनि सहकारीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेकै कारण अधिवेशनले उनलाई उपाध्यक्षमा पुनः चयन गरेको हो । सहकारीको सचिवमा रत्नमान बज्राचार्य पनि पुनः चयन भएका छन् । यस्तै सहकारीको कोषाध्यक्षमा विनयराज बज्राचार्य, सह–सचिवमा दिनेशबहादुर बज्राचार्य चयन भएका छन् । सदस्यहरुमा सरबिन्द्र बज्राचार्य, शान्ति शाक्य, ज्ञानेन्द्रकाजी शाक्य, मनिषलाल बज्राचार्य चयन भएको सहकारीका प्रवन्धक प्रकाश शर्माले बताए । उनका अनुसार लेखा समिति संयोजकमा शोभामान बज्राचार्य, लेखा समिति सदस्यहरुमा नारायणबहादुर बज्राचार्य र राजेशकाजी शाक्य चयन भएका छन् ।

सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यले सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको बताए । उनले भने,‘सहकारीको माध्यमबाट सदस्यहरु बिच आत्मीयता, सद्भाव, र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’ कार्यक्रममा संस्थाका सल्लाहकार मिनबहादुर केशीले सहकारीले छोटो समयमै समृद्धिको दिशामा फड्को मार्न सफल भएको बताए । उनले संस्थालाई दीगो र प्रभावकारी बनाउन समर्पण, प्रतिवद्धता र पारदर्शी हुनुपर्नेमा जोड दिए । केसीले सहकारीहरु अब एक जुट भएर अगाडि बढ्ने बेला आएको धारणा व्यक्त गरे । लुम्बिनी प्रदेशका पूर्व सांसद तथा सहकारीका सल्लाहकार डा.पुरनमान बजा्रचार्यले सहकारीले समय र आवश्यकतालाई ध्यानमा राखेर लगानी गर्न सकेको खण्डामा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

संस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक सरोजलाल शाक्यले आर्थिक रुपमा शेयर सदस्य बलियो भए मात्र सहकारी बलियो हुने बताए । उनले सहकारीलाई बलियो बनाउन शेयर सदस्यहरुले सहकारीमै कारोबार गर्नुपर्नेमा जोड दिए । उपाध्यक्ष शाक्यले जीवन रक्षा बचत कार्यक्रमलाई अहिले पनि आफुुहरुले निरन्तरता दिएको बताए । नवजनचेतना राष्ट्रिय दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे । कार्यक्रममा सहकारीका सल्लाहकार चित्रवलीराम सुुवाल, देवेन्द्रमान शाक्य, शेयर सदस्य रविता बज्राचार्य लगायतले आ–आफ्ना धारण राखेका थिए । सभामा कोषाध्यक्ष सरविन्द्रमान बज्राचार्यले २ करोड ५६ लाख ४५ हजार बराबरको आय व्यय प्रस्तुत गरेका थिए । शोभामान बज्राचार्यले लेखा संयोजक र सरोजलाल शाक्यले ऋण उपसमितिका संयेजकको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले सोही अवसरमा जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यको अध्यक्षता, सचिव रत्नमान बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update