Shittalpati
पाल्पाका उद्योगी–व्यवसायी आन्दोलनमा, थाले हस्ताक्षर संकलन गर्न

पाल्पा, राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि चर्को ब्याजदरको विरुद्धमा उद्योगी–व्यवसायीहरुले आन्दोलन थालेका छन् ।
पाल्पा उद्योग वाणिज्य संघको नेतृत्वमा यहाँका उद्योगी–व्यवसायीहरुले शुक्रबारदेखि आन्दोलनका कार्यक्रम थालेका हुन् । उनीहरुले अस्वभाविक रूपले बढेको ब्याजदरले अर्थतन्त्रलाई नकारात्मक असर परेको र अव्यवहारिक भएको भन्दै त्यसको विरुद्धमा आन्दोलनस्वरुप हस्ताक्षर संकलन अभियान थालेका छन् । उनीहरुले राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै पुस १५ गतेदेखि २१ गतेसम्म हस्ताक्षर अभियान चलाएका छन् । कोभिड–१९ ले थला परेको व्यवसाय केही तंग्रिने अवस्थामा रहेको बेला विभिन्न वाहानामा सबैतिरबाट व्यवसायीलाई नै मर्का पर्ने आर्थिक नीति ल्याइएका कारण ज्यादै जटिल परिस्थितीसँग व्यवसायी जुध्नुपरेकाले आन्दोलनमा जानु परेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । उनले भने, ‘व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुँदा समेत सरकारले वेवास्ता गरेको छ ।’
सरकारले नै व्यवसायीको विषयमा ध्यान नदिएको कारण हामी अन्दोलनमा होमिएको अध्यक्ष भट्टराईको भनाई छ । उद्योगी–व्यवसायीहरुले चर्को व्याजदर नियन्त्रण गर, बैंकहरुको आतंक बन्द गर, व्यवसायी, व्यवसायी एक हौं, व्यवसायी एकता जिन्दवाद, व्यवसायीको मागर सम्बोधन गर, कारोबारको आधारमा कर्जा दिने प्रवधान संशोधन गर, राष्ट्र बैंकको अव्यवहारिक नीति खारेज गर जस्ता मागहरु लिएर आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update