Shittalpati
रैथाने बाली लोप हुँदै

वालिङ, उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् । ढिलै भए पनि रैथाने बालीको बीउ संरक्षणमा जोड दिने गरी वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले अभियान अगाडि बढाएको छ । वालिङ तथा आसपासका क्षेत्र स्याङ्जा, पर्वत र पाल्पाका विभिन्न भागमा पुगेर स्थानीय जातका खाद्यान्न तथा तरकारी बालीका बीउ संकलन गर्दै आइएको उक्त संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताए ।

वालिङ नगरपालिका, दियालो संस्था र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा उक्त संस्थाले सो अभियान चलाएको हो । ‘हामी आधुनिकतातर्फ लम्कदै ‘हाइब्रिड’ जातका बीउ लगाउँदै गर्दा हाम्रा पुराना बालीका बीउ लोप हुँदै गएका छन्’, उनले भने, ‘रैथाने बालीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा बेलैमा ध्यान दिइएन भने भोलिका दिन बीउमा पनि परनिर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।’ स्याङ्जा जिल्लाका अधिकांश भागसहित पाल्पा, पर्वत र गुल्मीका केही भागमा पुगेर रैथाने जातका बालीका बीउ संकलन अभियानलाई जारी राखेको उनले बताए । ‘रैथाने बालीको संरक्षण अभियान अन्तर्गत विभिन्न ठाउँमा पुगेर खाद्यान्न तथा तरकारी बालीका हालसम्म ५८ प्रजातिका बीउ संकलन गरेका छौँ । अझै निरन्तररुपमा खोजी जारी राख्छौँ’, अध्यक्ष गुरुङले भने, ‘संकलित बीउलाई कृषि विज्ञको सहयोगमा प्रयोगशालामा परीक्षण गरी कृषकलाई फिर्ता गर्ने र उत्पादन भएको बीउ फेरि संस्थाले खरिद गरी बीउ बैंककारुपमा अगाडि बढाउने लक्ष्य छ ।’ अन्य बीउ तथा प्राङ्गारिक मलसहित लोप हुँदै गएका बाली संरक्षणलाई प्राथमिकतामा राखेर बीउको संरक्षण गर्दै अगाडि बढ्ने लक्ष्य रहेको युनडिपीका गण्डकी, लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए । उनले भने, ‘स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नका साथै उत्पादित बस्तुको बजारीकरण र सर्वसुलभ उपलब्ध गराउन जोड दिइने छ ।’ संस्थासँगको सहकार्यमा गड्यौला मल उत्पादन तथा बजारीकरण पनि गरिएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update