Shittalpati
फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा

गुल्मी, फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले आफ्नो साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा फरक क्षमताका विद्यार्थीहरु अध्ययन गर्दै आएको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

यहाँका २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढेसँगै फरक क्षमताका विद्यार्थीलाई सहयोग स्वरुप गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । प्रतिष्ठानले बिहीबारदेखि अधिवेशन तम्घासमा सुरु गरेको प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष जनक पन्थले बताए । उनका अनुसार अधिवेशन पुस २ गतेसम्म हुनेछ । विभिन्न रचनात्मक कार्यक्रम गरेर संस्थाको सातौं जिल्ला अधिवेशन गर्न लागेको छ । अधिवेशनको पुस २ गते हुने मञ्चको कार्यक्रममा राष्ट्रिय कलाकारसँगै विभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले अधिवेशनको अवसरमा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट कार्यसमिति सम्मान र संस्थालाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले बताए । अधिवेशनको तयारी स्वरुप विभिन्न समिति बनाएर काम अगाडि बढाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update