Shittalpati
सात लघु बीमा कम्पनीले पाए लाइसेन्स

पाल्पा, लघुबिमा कम्पनीका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले ७ वटा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

१५ वटा जीवन र १६ वटा निर्जीवन गरी ३१ वटा लघु बीमा कम्पनीले प्राधिकरणमा आवेदन दिएका थिए । प्रदेशमा १÷१ वटाका दरले ७ वटा कम्पनीलाई छनोट गरिएको प्राधिकरणले जनाएको छ । ‘लघुबिमा व्यवसाय गर्ने कम्पनी संस्थापनाको लागि यस प्राधिकरणबाट भदौ १० मा ३५ दिने सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरिएकोमा म्यादभित्र प्राधिकरणमा दर्ता हुन आएका प्रस्तावमध्ये प्राधिकरणबाट मूल्यांकन हुँदा तपसिल बमोजिमका प्रस्तावहरूलाई छनोट गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ । प्राधिकरणको सूचना अनुसार प्रदेश १ को गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लि, बिराटनगर, कर्णाली प्रदेशको क्रेष्ट माइकोलाइफ इन्स्योरेन्स लि, वीरेन्द्रनगर, गण्डकी प्रदेशको लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स लि.पोखरा, लुम्बिनी प्रदेशको ट्रष्ट माइक्रो इन्स्योरेन्स क. लि. बुटवल, बाग्मती प्रदेशको नेपाल माइको इन्स्योरेन्स क. लि भरतपुर, मधेश प्रदेशको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. जनकपुरधाम, सुदुरपश्चिम प्रदेशको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. कैलालीले लाइसेन्स पाएका हुन् । सोही अवधिभित्र प्राधिकरणमा परेको आवेदनमध्ये तोकिएको मूल्यांकनका आधारमा सो कम्पनी छनोट भएको प्राधिकरणले जनाएको छ ।

लघुबिमा व्यवसाय सञ्चालन गर्ने पूर्वसहमति पाएका बिमा कम्पनीले कबोल गरिएको चुक्ता पुँजीको ७० प्रतिशत रकम नेपाल बिमा प्राधिकरणका नाममा अनिवार्य रूपमा एयरमार्क गर्नुपर्नेछ । व्यवसाय सञ्चालनको अनुमति पाएका कम्पनीले ३५ दिनभित्र कम्पनी रजिस्ट्रार कार्यालयमा पुगी कम्पनी दर्ता गर्नुपर्नेछ । कम्पनी दर्ताको प्रमाणपत्र पाएपछि लाइसेन्सका लागि नेपाल बिमा प्राधिकरणमा निवदेन दिनुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update