
पाल्पा,पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार तानसेनमा भएको मतदानबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी राजिव श्रेष्ठलाई ४ सय ४० मतअन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा विजयी भट्टराईले ६ सय ४१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले भने २ सय १ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । एक हजार एक सय ३५ कूल मतदाता मध्ये अध्यक्ष पदमा ८ सय ४७ मत खसेको थियो । जसमा ३ मत बदर र २ मत भने हराएको छ ।
यी दुवै काँग्रेस निकट व्यवसायी हुन् । विगतका निर्वाचनमा जस्तो प्यानल बनाएर चुनावी मैदानमा नआए पनि दुवै उम्मेदवारले आ–आफ्नै किसिमले चुनावी प्रचार भने गरेका थिए । अध्यक्षमा निर्वाचित भट्टराई पि.एस. गल्ला भण्डारका सञ्चालक हुन् भने पराजित भएका श्रेष्ठ हरिमान अमरमान इलोक्ट्रोनिक्स सेन्टरका सञ्चालक हुन् । भट्टराईलाई संघका केही पूर्व अध्यक्षहरुको समर्थन रहेको थियो भने श्रेष्ठलाई नयाँ पुस्तका व्यवसायीहरुको समर्थन थियो ।
यस्तै, उद्योग उपाध्यक्षमा भएको निर्वाचनमा करुवा व्यवसायी उत्तम कुमार ब्रजाचार्य विजयी भएका छन् । उनले न्यू पाल्पा बंगुर तथा पशुपंक्षी कृषि फर्मका सञ्चालक रमेश राज बज्राचार्यलाई ६७ मतान्तरले हराउँदै उद्योग उपाध्यक्षमा विजयी भएका हुन् । विजयी बज्राचार्यले एक सय ७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी रमेशले ४० मत प्राप्त गरे । उपाध्यक्षका लागि उद्योगतर्फका १ सय ८९ जना मतदाता रहे पनि जम्मा एक सय ४८ मत खसेको थियो । जसमा एक मत बदर भएको छ ।
संघको वाणिज्य उपाध्यक्षमा भने भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै क्षेत्र नं .११ को दुई सदस्यका लागि भएको निर्वाचनमा तीन जना चुनावी मैदानमा रहेका थिए । जसमा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित भएका छन् । पाण्डेले ३३ पाप्त गरे भने बस्यालले ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पराजित हलिम दिन मिँयाले भने २५ मत प्राप्त गरिन् । ५ मत भने बदर भएको छ । कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं. ११ को दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो । अन्य पदमा भने निर्विरोध भइसकेका छन् ।
एसोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे निर्विरोध भएका छन् । उनी एक्लो उम्मेदवार बने । यस्तै क्षेत्र २ को सदस्यमा संजयकुमार श्रेष्ठ, क्षेत्र ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र ४ को दुई पदमा नारायण पछाई, मञ्जु रेग्मी, क्षेत्र नं.५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नं.६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं. ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य,क्षेत्र नं. ८ मा दुई सिटका लागि रञ्जना कुमारी थापा अर्याल, प्रज्वल राज शाक्य, क्षेत्र नं.९ को एक सिटमा समिरमान सिंह, क्षेत्र नं. १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नं.१३ को एक सिटमा समता मियाँ निर्विरोध भएका छन् ।