Shittalpati
आज पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन हुँदै, अध्यक्षमा भट्टराई र श्रेष्ठको प्रतिस्पर्धा

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघको आज नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । भगवती मन्दिरको प्रंगणमा मतदान चलिरहेको छ । तीनवर्षे कार्यकालका लागि हुन लागेको संघको निर्वाचनमा अध्यक्ष पदका लागि अहिलेका महासचिव शैलेन्द्र भट्टराई र कोषाध्यक्ष राजिव श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । यी दुवै काँग्रेस निकट व्यवसायी हुन् । विगतका निर्वाचनमा जस्तो प्यानल बनाएर चुनावी मैदानमा नआए पनि दुवै उम्मेदवारले आ–आफ्नै किसिमले चुनावी प्रचार भने गरेका छन् । भट्टराईलाई संघका केही पूर्व अध्यक्षहरुको समर्थन रहेको छ भने श्रेष्ठलाई नयाँ पुस्तका व्यवसायीहरुको समर्थन रहेको देखिन्छ । भट्टराई संघको आमन्त्रित सदस्य हुँदै महासचिव बनेका हुन् । ३ वर्ष आमन्त्रित सदस्य भएका भट्टराई ६ वर्ष कार्यसमिति सदस्य बनेका थिए । त्यसपछि तीन वर्ष वाणिज्य उपाध्यक्ष र निवर्तमान महासचिवको भूमिकामा रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिएका छन् । श्रेष्ठ विगतमा दुई कार्यकाल सदस्य हुँदै एक कार्यकाल कोषाध्यक्ष भएर काम गरेका छन् । यस्तै उद्योग उपाध्यक्ष पदमा भने दुुई जनाको उम्मेदवारी परेको छ । जसमा उत्तमकुमार बज्राचार्य र रमेशराज बज्राचार्य चुनावी मैदानमा छन् । संघको वाणिज्य उपाध्यक्षमा भने भीमबहादुर श्रेष्ठ निर्विरोध भइसेका छन् । आज अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं. ११ को दुई सदस्यमा मात्र निर्वाचन हुँदैछ । अन्य पदमा भने निर्विरोध भइसकेका छन् ।

अध्यक्षको उम्मेदवारी दिएका दुवैले आफुहरु विजयी हुनेमा ढुक्क छन् । विगतमा लामो अनुभव लिएकाहरु भएकाले उनीहरुले आफुलाई अब्बल ठानेका हुनसक्ने उद्योगी व्यवसायीको बुझाई छ । अध्यक्ष पदका उम्मेदवार शैलेन्द्र भट्टराईले आफुले संघलाई संस्थागत रुपमा अगाडि बढाउन उम्मेदवारी दिएको बताएका छन् । उनले विगतमा सदस्य, वाणिज्य उपाध्यक्ष र महासचिव भएर काम गरेकाले अब काम गर्ने पालो अध्यक्ष भएर नै भएको बताए । यस अघि वाणिज्य उपाध्यक्ष र महासचिवमा निर्वाचित भएर काम गरेका उनले अहिले अध्यक्षको दाबी गर्नुलाई अस्वभाविक नमानेको बताए । संघको गरिमालाई उच्च बनाई राख्ने आफ्नो संकल्प रहेको भट्टराईले बताए । व्यवसायीहरुको प्रतिष्ठालाई समाजमा व्यवस्थित गर्दै, निर्माणाधीन बहुउद्देश्यीय भवनलाई समयमै सम्पन्न गर्ने लक्ष्य उनको छ । भट्टराईले सधै पाल्पाका उद्योगी तथा व्यवसायीको मनोवल उच्च राख्ने काममा लाग्ने समेत बताए । उनले तत्कालिन समयमा स्वर्गीय बाबु पशुपति भट्टराई संघको अध्यक्ष हुँदा गर्न नभ्याएका अधुरा कामलाई अघि बढाउने समेत अठोट लिएका छन् ।

उनले पाल्पाको घट्दो आर्थिक गतिविधीलाई बढाउन दीर्घकालीन योजना आफुले अगाडि सारेको पनि बताए । भट्टराईले कृषकदेखि उद्योगीसम्मका समस्या समाधानमा आफ्नो प्राथमिकता रहने बताए । उनले बजारीकरण, उत्पादन र पर्यटकीय क्षेत्रको विकासका लागि दातृ संस्थाहरुसँग समन्वय गरी काम गर्ने अठोट समेत आफुले लिएको बताए । सदस्य हुँदै कोषाध्यक्षको जिम्मेवारी पुरा गरेका अर्का अध्यक्षका उम्मेदवार राजिव श्रेष्ठले सबैको सहयोगले अध्यक्षमा निर्वाचित हुने बताएका छन् । उनले पनि निर्माणधिन संघको बहुउदेश्यी भवनलाई पूर्णता दिने बताए । उनले उद्योगी–व्यवासयीहरुको हितसँगै ग्रामीण क्षेत्रका नागरिकहरुलाई उद्यमशीलता र व्यवसायिक मूलक तालिम दिई आत्मनिर्भर बनाउने संकल्प गरेको बताए । श्रेष्ठले संघमा रहेको हित कोषलाई ५० लाख पु¥याउने, संघमा आवद्ध सदस्यहरुका लागि काजक्रिया बापत ५० हजार राहत दिने, दुर्घटना विमा वापतको रकममा वृद्धि गर्ने योजना रहेको समेत बताए ।

उनले जिल्लाका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने पनि संकल्प गरेका छन् । अध्यक्ष र उपाध्यक्ष सहित क्षेत्र नं. ११ को दुई सदस्यका लागि चुनाव हुँदैछ । क्षेत्र नं. ११ मा सदस्यका लागि हलिम दिन मियाँ, लक्ष्मण बस्याल, कमलप्रसाद पाण्डे चुनावी मैदानमा छन् । अन्य पदमा भने यसअघि नै निर्विरोध भइसेको संघका कार्यकारी अधिकृत शुसिल प्रधानले जानकारी दिए । यहाँ १ हजार १ सय ३५ मतदाता रहेको निर्वाचन अधिकृत टंकप्रसाद भट्टराईले बताए । जसमा उद्योग उपाध्यक्षका लागि उद्योगतर्फका १ सय ८९ जना र सदस्यका लागि सोही क्षेत्रका ६१ जना मतदाताले मात्रै मतदान गर्ने छन् । अध्यक्षका लागि भने सबै मतदाताले मतदान गर्न पाउने छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update