Shittalpati
जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने

काठमाडौं, बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत लिन नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप विद्युत लिन लागेको हो ।

यसअघि कूल ४४ मेगावाट लिँदै आएकामा अब थप चार मेगावाट लिने जनाइएको छ । प्राधिकरणले परवानीपुर १ सय ३२ केभी सवस्टेशनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत आपूर्ति दिने छ । थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ । उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।

योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए । ‘उद्योगले अहिले चार दशमल आठ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभिए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोड बमोजिम थप विद्युत दिन सुरु गरिएको छ’, उनले भने, ‘स्वीकृति लोड अनुसार विद्युत लिएमा उद्योगले मासिक रुपमा रु २० करोडभन्दा बढी महसुल तिर्ने छ ।’ –रासस

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update