Shittalpati
आज विश्व शौचालय दिवस मनाइदैं

पाल्पा, आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी शौचालय दिवस मनाइँदै छ । शौचालय र यसको महत्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ । नेपालमा व्यवस्थित शौचालय नहुँदा सर्वसाधारणले अझै पनि समस्या भोग्नुपरेको छ ।

नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषण भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन । मानव जीवनशैली र सरसफाइका लागि शौचालय आधारभूत तत्व हो । निजीका साथसाथै सार्वजनिक शौचालय हुनु व्यवस्थित सहरको उदाहरण पनि हो । सामान्यतया शौचालयलाई फोहोर ठाउँ भन्ने गरिन्छ । तर, शौचालय हामीलाई सफा र सुरक्षित राख्ने सहयोगी हो भनेर स्पष्ट पार्न जरुरी छ । सफा शौचालयको सहि प्रयोग सभ्य समाजको अभिन्न अंग मानिन्छ । नेपाललाई सन् २०३० सम्म खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि धैरै मानिसहरु शौचालयको पहुँच बाहिर छन् । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । शहरी तथा राजमार्गका व्यस्त चोकहरूमा भएका सार्वजनिक शौचालय पनि सरसफाइ एवं पूर्वाधारजन्य हिसाबले नाजुक अवस्थामा छन् । सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौंको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update