Shittalpati
निर्वाचनको तयारी पूरा, प्रचार गर्न नपाइने

पाल्पा, निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ । आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको बताएका हुन् । व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएको आयोगले जनाएको छ ।

एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था प्रदान गर्नेगरी २ दिनभित्र केन्द्र निर्माण गरिने छ । निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । समानुपातिकबाहेक प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि कूल ८ करोड मतपत्र छापिएको आयोगले जनाएको छ । ७ हजार २ सय १९ जनाले निर्वाचनको पर्यवेक्षण गर्ने छन् भने १८ कूटनीतिक नियोगले अनुगमन गर्ने जनाइएको छ । १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदान स्थलबाट मतदान गर्नेछन् । बिहीबार राती १२ बजेदेखि निर्वाचनको प्रसार गर्न पाइने छैन । निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागु हुन्छ । आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा धाँधली गरेको ठहर भएमा आयोगले उम्मेदवारीसम्म रद्द गर्नेछ । स्थिर समयमा सबै उम्मेदवारका घोषणा पत्र, विचार र विगत बारे मतदातालाई सोच्न दिने समय हो । मतदना हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन र सम्बन्धित व्यक्तिका लागि आयोगले विशेष आचरण पालना गर्नुपर्ने निर्धारण गरेको छ । यो समयमा निर्वाचन प्रचार–प्रसारका लागि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने आचारसंहितामा उल्लेख छ । आचारसंहिता अनुसार स्थिरसमय सुरु हुनुभन्दा पहिले नै मतदान स्थलको तीन सय मिटर वरिपरी राखिएका राजनीतिक दल तथा उम्मेदवारका चुनाव प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । सामाजिक सञ्जाल, अनलाइन, छापालगायत अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन । ती सन्देश, सूचना, प्रचार–प्रसारका सामग्री पोस्ट तथा शेयर गर्न गराउन निषेध गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update