Shittalpati
पाल्पामा गठबन्धनका उम्मेदवार जिताउन काँग्रेस सभापति श्रेष्ठको आह्वान

पाल्पा, सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस पाल्पाका सभापति तथा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सबैमा अह्वान गरेका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रूख चिन्ह र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी पंक्ति र आम मतदाताहरुलाई आह्वान गरेका हुन् ।

सभापति श्रेष्ठले नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गर्दै भनेका छन् ‘गठबन्धन भनेकै सहकार्य हो । दिने पनि हो । लिने पनि हो । पारस्परिक सहयोगबाट परिणाम आउने हो । त्यो परिणाम आउँदा हाम्रो सरकार बन्ने हो ।’ दुई तिहाइको ओलि– कम्युनिष्ट सरकारको तानाशाह प्रवृतिहरु संसद विघटन जस्ता असंवैधानिक कदम र प्रतिगमनका विरुद्ध नेपाली काँग्रेसको नेतृत्वमा राजनैतिक दलहरुको एकता पश्चात् पाँच दलिय गठबन्धनले संसद र संविधान बचाउन सकेको उनले सामाजिक सञ्जालमा भनेका छन् । देशको रक्षार्थका लागि पाँचदलिय गठबन्धन बनेको भन्दै सभापति श्रेष्ठले भोलिका दिनमा पनि गठबन्धन एक भएर जाने बताए ।

उनले केपी ओलीप्रति लक्षित गर्दै कैयौं सपना र उदाहरणबाट मोहित भएर ल्याएको संघीयता बादरको हातमा नरिवल भएको बताएका छन् । उनले भनेका छन्‘ हजारौं मान्छेको रगतसँग साटेर ल्याएको गणतन्त्रको मैदानमा राजतन्त्रवादीको नृत्य हेर्नुपरेको छ । समयले अब व्यवस्था परिवर्तन पक्कै मागेको छैन, जति बेला जनताले सकारको महुशुस गर्न सक्ने अवसर बन्छ तब मात्र व्यवस्थाको रस पस्छ । गणतन्त्रबाट नै सरकार र जनताको निकट सम्बन्ध अनि विकेन्द्रीकरणको सिद्धान्तबाट मात्र व्यवस्थित विकास मूूल्यवान् भएको कुरा बाह्य विकसित मुलुकबाट प्रष्ट छ । त्यसैले अवस्था परिवर्तनका लागि सत्ता गठबन्धन एक विकल्प हो ।’ सरकार स्थापित गर्न पाँच दलिय गठबन्धन भित्र आस्थाभन्दा फरक चिन्हमा मतदान गर्नुपर्ने बाध्यता भए पनि प्रतिगमनको सर्पका निम्ति गठबन्धन अग्रगमनको लट्ठि भएको सभापति श्रेष्ठले उल्लेख गरेका छन् । ‘जन्मदिने आमा एकमात्र भए पनि संकटकालमा संरक्षण गर्ने आमा समयले अर्को जन्माएमा ति आमा कि स्विकार्न सक्नुपर्छ कि त संकटकालमा फसिरहन सक्नुर्छ, तर यहाँ अब प्रतिगमनबाट फुस्कनुु नै छ’ उनले भनेका छन् । अग्रगमनको बाजी मार्न गठबन्धनका उम्मेदवारलाई उत्साहपूर्वक मतदान गर्न श्रेष्ठले सबैमा आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update