Shittalpati
गुल्मी मुसिकोट महोत्सव र नेपाल भ्रमण वर्ष २०२०

रमेश विश्वकर्मा

व्यवसायिक हक हित एवं बजार व्यस्थापनको लागि बजार व्यवस्थापन समिति भनेर वि.सं. २०६१ सालमा वामिटक्सार बजारमा एउटा समिती गठन भएको थियो । त्यस समितिले निरन्तर आफ्ना क्रियाकलापहरु अगाडि बढायो, त्यसपछि वि.सं. २०६४ जेठ १४ गते उद्योग वाणिज्य संघ, वामी शाखा, गुल्मी उद्योग वाणिज्य संघको शाखाको रुपमा गठन गरिएको थियो । वि.सं. २०७१ साल मंसिरमा गुल्मी उद्योग वाणिज्य संघ शाखा कार्यालय वामी भनी गठन गरिएको थियो ।

व्यवसायिक हक हित, सामाजिक सुधार एवं बजार व्यवस्थापन गर्ने उद्देश्यले वि.सं. २०७५ साल चैतमा जिल्ला प्रशासन कार्यालय, गुल्मी र वि.सं. २०७६ सालमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ बाट विधिवत रुपमा सदस्यता लिई गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको स्थापना भएको थियो । वाणिज्य संघले आफ्नो स्थापनासंगै व्यवसायिक हकहितको संरक्षण, संवर्द्धन र व्यवसाय प्रवर्द्धन एवम् मुसिकोट नगरपालिका भित्र प्रचुर सम्भावना रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिए । त्यस्तै उनले विशेषगरी मुसिकोट नगरपालिकाको पहिचान स्थापित गर्नको लागि पनि यो महोत्सवको आयोजना गर्न लागिएको बताए ।

स्थानीय स्तरमा उत्पादन गरिएका कृषि उपजहरुलाई प्रोत्साहन गर्न, विभिन्न जातीय भेषभुषा, कला र संस्कृतिको संरक्षण गर्न, पुराना र महत्वपूर्ण वस्तुहरुको संरक्षण गर्नको लागि पनि महोत्सवको आयोजना गरिएको अध्यक्ष शाक्यले बताए । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन, मुसिकोटको प्राकृतिक, भौगोलिक, जैविक विविधताको पहिचान, औद्योगिक, व्यापारिक, कृषि, पशुपालन उद्यमशिलताको प्रवर्द्धन, पर्यटन, संस्कृती क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटकलाई भ्रमण गर्न प्रोत्साहित, महोत्सवको माध्यमबाट नागरिकहरुलाई जमघट गराउने, मनोरञ्जन प्रदान गर्ने नगर प्रति अपनत्व सिर्जना गराउने भन्दै अध्यक्ष शाक्यले महोत्सवबाट हुने बचतबाट संस्थाको आफ्नै भवन बनाउने, कृषि, व्यापार, उद्योगमा प्रयोग गर्न सकिने प्रविधि तथा मेशिनरीको प्रदर्सनी मार्फत उत्पादन बढाउन प्रेरित, सरसफाईलाई विशेष ध्यानमा राखी प्रयोगमा ल्याउन प्रर्दशनी मार्फत सहयोग पु¥याउने र लगानीका संभावित क्षेत्र पहिचान गरि उचित वातावरण मिलाउने व्यवस्था गर्न पनि महोत्सवको उद्देश्य रहेको बताए । “गुल्मी मुसिकोटको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार“ भन्ने मुख्य नारा लिएर जिल्लाको मुसिकोट नगरपालिका वामीटक्सार बजारमा प्रथम गुल्मी मुसिकोट महोत्सव हुन लागेको संघका सचिव महेश्वर घिमिरेले जानकारी दिए । महोत्सवबाट उद्यमीहरुको विकासमा योगदान पुग्ने, उपभोक्ताहरु र ग्राहकहरुसंग प्रत्यक्ष सम्पर्क हुने अध्यक्ष शाक्यले बताए । त्यस्तै उनले प्रायोजक र साझेदारीका माध्यमले व्यवसायिक संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको पहिचान बनाउन सकिने, व्यक्तिगत प्रायोजन साझेदारहरुलाई समाजमा जिम्मेवार नागरिकको रुपमा परिचय गराउने बताए ।

देशको आर्थिक सामाजिक विकासमा सहयोगी भएको पहिचान गराउने, व्यवसायिक उत्पादनको ब्राण्डको प्रचार–प्रसार हुने, आधारभुत ग्राहकहरुको संख्यामा वृद्धि हुने, अन्य विभिन्न संस्थागत संगठनहरु संगको आपसी समन्वय लगायतका फाईदाहरु महोत्सवबाट हुने बताईएको छ । मुसिकोट नगरपालिकामा जन्म भई स्वदेश तथा विदेशमा रहेका, जिल्ला भित्र रहेका क्याम्पस, मावी, निमावी तथा प्रावीका विद्यार्थीहरु, जिल्लाका सबै स्थानिय तहका बासिन्दाहरु, छिमेकी तथा अन्य जिल्लाका बासिन्दाहरु, विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका सम्बध व्यक्तिहरु लगायतका महोत्सव अवलोकन कर्ताहरु रहने महोत्सवका सुचना तथा प्रचार-प्रसार उपसमिति संयोजक ज्ञानहरी सापकोटाले बताए । उनले महोत्सवमा खुल्ला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर मावी छात्ररछात्रा कबड्डी प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा साङ्गितिक कार्यक्रम, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, चमेना गृह, बाल उद्धान, विभिन्न झाँकीहरु तथा नृत्य प्रदर्शन, र्याफटिङ्ग, पशुपन्छी तथा बाली कृषिजन्य उत्पादनहरुको प्रदर्शनी, विभिन्न जातजातिहरुको खानाको प्रदर्शन लगायतका महोत्सवका आकर्षणहरु रहेको बताए ।

माघ १५ देखि २६ गतेसम्म वामीटक्सार बजारमा पर्यटन, सांस्कृतिक औद्योगिक एवं व्यापार महोत्सव हुन लागेको हो । महोत्सवमा १ सय ५० भन्दा बढि स्टलहरु रहने बताईएको छ । महोत्सव अवधीभर हेलिकप्टर मार्फत मुसिकोट नगरपालिका भित्र रहेका ऐतिहासिक एवम् पर्यटकीय स्थानहरु, जिल्लामा रहेका विभिन्न ऐतिहासिक एवम् पर्यटकीय स्थानहरु र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पनि अवलोकन गराईने समितिले जनाएको छ । करिब ७० हजारले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । कृषि र शैक्षिक स्टल निःशुल्क रहनेछन् । महोत्सवलाई सफल बनाउनका लागि ९ सदस्यीय सचिवालय र विभिन्न २३ वटा उपसमिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update