Shittalpati
पाल्पामा चुनावी घरदैलो तीव्र

पाल्पा, मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी घरदैलोलाई तीव्रता दिएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घर घरमा पुगिरहेका छन् ।

गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले क्षेत्र नं. १ को विकास र समृद्धिका लागि मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । उनले मतदाताहरुसँगको भेटमा पटक–पटक एमालेलाई जिताए पनि यस क्षेत्रको विकास हुुन नसकेकाले यस पटक गठबन्धनका उम्मेदवारलाई जिताउन भनेका छन् । उनीसँगै प्रदेश सभाका सदस्यहरु शंकर खनाल र श्यामकान्त खनाल पनि घरदैलोमै व्यस्त छन् । पाल्पा क्षेत्र नं २ मा गठबन्धन दलका उम्मेदवार र दलहरु भोट माग्दै मतदाताका घर–घरमा पुगेका छन् । गठन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका सोमप्रसाद पाण्डे अहिले तानसेन, रैनादेवी ,रिब्दीकोट र तिनाउमा घर घरमा मतदाताहरुसँग भोट माग्नमै व्यस्त छन् । उनले मतदातासँगको भेटमा पाल्पाका अधुरा र ठूला योजना पूरा गर्न पुनः निर्वाचनमा आएको बताए । पाण्डेसँगै भोट माग्न मतदाताको घरमा पुगेका प्रदेश सभा २ (१) का उम्मेदवार, नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताए । गठबन्धनबाटै प्रदेश सभा २ (२)का उम्मेदवार बनेका नेकपा माओवादीका नेता तुलराम (बसन्त) घर्ती पनि मतदाताहरुसँग भोट माग्न गाउँ पसेका छन् ।

यस्तै नेकपा एमाले पाल्पाले चुनावी अभियानलाई तीव्रता दिएको छ । उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले रामपुर नगरपालिकाका विभिन्न वडाका मतदाताहरुलाई भेटेर मत माग्नमै व्यस्त छन् ।

त्यस्तै पाल्पा क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवार ठाकुर गैरे केही दिन देखि रैनादेवी छहराका विभिन्न वडाहरुमा घरदैलो तथा भेटघाटमा व्यस्त छन् । छहराबासीहरुसँगको भेटघाटका क्रममा उम्मेदवार गैरेले आफू यसअघि कुनै संसदीय निर्वाचनमा सहभागी नभएको र अहिले पहिलो पटक उम्मेदवार बनेकोले मत दिएर अवसर प्रदान गर्न आग्रह गरे । पाल्पा क्षेत्र नं.१ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ पनि मतदाताहरु भेट्न घरदैलोमै व्यस्त छन् । क्षेत्र नं. १ (२) का उम्मेदवार खेम बहादुर सारु पनि माथागढी ५ हात्तीलुङका टोलहरुमा घरदैलोमा व्यस्त रहेका छन् । मतदाताहरुसँगको भेटघाटमा उम्मेदवार सारुले यस क्षेत्रमा अहिले पनि सूचना तथा सञ्चार सेवा पूर्ण नभएको नेपाल टेलिकमको नेटवर्क समेत राम्रो नदेखाउने भएकोले उक्त समस्या समाधानका लागि आफ्नो प्रमुख भूमिका रहने बताएका छन् । पाल्पा क्षेत्र नं. २(१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिका वडा नं. १३ छर्लुङका मतदाताहरुसँग र क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती रैनादेवी छहराका विभिन्न वडाहरुमा घरदैलोमा व्यस्त रहेका छन् । स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाताको गाउँ, टोल र घर–घरमा पुगेर मत मागिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update