Shittalpati
वित्तीय कारोबारमा अब्बल बन्दै पाल्पा रारा सहकारी, २३ करोडको कारोबार

रामचन्द्र रायमाझी
पाल्पा, २२ वर्ष अघि सहकारीको रुपमा सञ्चालनमा आएको तानसेनको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था अहिले जिल्लामै अब्बल सहकारी संस्थाको रुपमा दरिएको छ । ऋण लगानी, वित्तिय पहुँचमा वृद्धि, ग्रामीण महिलाको क्षमता वृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी लगायतका वित्तिय कारोबारमा सहकारी अब्बल बन्दै गएको हो ।
सहकारीमा केहीले रोजगारी पाएका छन् भने धेरै व्यवसायी र उद्यमी बनेका छन् । संस्थामा जम्मा भएको रकम सस्तो ब्याजमा लिएर यहाँका शेयर सदस्यहरुले उद्यम गरेर आयस्रोत बढाएका छन् । सहकारीको आर्थिक कारोबार अहिले २३ करोड बढी पुगेको छ । शुक्रबार २२ औं साधारण सभामा सहकारीको बार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सहकारीका अध्यक्ष जगदीश भट्टराईले कारोबार २३ करोड २२ लाख ५४ हजार ७ सय ६९ पुगेको बताए । उनले भने, ‘वित्तिय कारोबारका क्षेत्रमा पाल्पामै हामी अब्बल छौँ । न्यून आय भएका विपन्न, पीछडिएका वर्गहरुको जीवनस्तर उकास्न उल्लेखीय काम गरेर सबैको मन जितेका छौँ । अझै सहकारीलाई ऐन कानुन अनुसार चुस्तदुरुस्त बनाउने छौँ ।’ बचतको माध्यमबाट उद्यमशील महिलाहरुलाई समूह बनाई बिना धितो लगानी गर्दै आएको अध्यक्ष भट्टराईले बताए । उनले भने ‘संस्थालाई नाफामूखी भन्दा पनि सदस्यहरुको सेवामा सहकारी केन्द्रीत रहेको छ ।’ जिल्ला बचत तथा ऋण सहकारी संस्था पाल्पाका अध्यक्ष समेत रहेका भट्टराईले सहकारीले नाफा कति भयो भन्दा पनि संस्थाले आफ्ना सदस्यहरुलाई सेवा सुविधा कस्तो ढंगले प्रवाह गरेको छ भन्ने कुरा महत्वपूर्ण हुने धारणा व्यक्त गरे । सहकारीले गत आर्थिक वर्ष १६ करोड ६७ लाख ९२ हजार ६ सय ८ निक्षेप संकलन गरेको छ । उसले ६० लाख ११ हजार ९ सय ७२ खुद नाफा गरेको छ । संस्थाले निक्षेपतर्फ दैनिक बचत सञ्चालन, लगानीतर्फ व्यापार, कुटिर उद्योग, घरायसी प्रयोजन, कृषि, हायर पर्चेज, पाल्पा रारा गृहणी बचत तथा युवा उद्यमी ऋण जस्ता क्षेत्रमा लगानी गर्दै आएको सहकारीका अध्यक्ष भट्टराईले बताए । सहकारीमा २ हजार ५ सय ७१ जना शेयर सदस्य रहेका छन् । जसमा १ हजार ८ सय १० जना महिला र ७ सय ६१ जना पुरुष रहेका छन् । सहकारीलाई अझै ग्रामीण क्षेत्रमा विस्तार गरिने संस्थाको आगामी रणनीति समेत रहेको अध्यक्ष भट्टराईले बताए । संस्थाका सदस्यलाई उद्यमी बनाउने, महिला शसक्तिकरणका कार्यक्रम चलाउने, समग्र रुपमा स्वास्थ्य, शिक्षा, कृषि रोजगारीका क्षेत्रमा सहकारीले आवश्यक लगानी गर्दै जाने समेत उनले बताए । तानसेनको श्रीनगरडाँडामा भएको सहकारीको २२ औं साधारण सभाको संस्थाका संस्थापक अध्यक्ष हिराबहादुर शाहाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका शाहाले सामुहिक भावनाबाट मात्र सहकारी अगाडि बढ्ने बताए । उनले समुदायमा आधारित रहेका सहकारीहरुले शेयर सदस्यहरुलाई उचित तालिमको व्यवस्था गरी आर्थिक रुपमा सक्षम र बलियो बनाउने उद्देश्य राखेको धारणा व्यक्त गरे ।
विशिष्ट अतिथि तथा जिल्लाका सहकारी अभियान्ता होमनाथ न्यौपानेले शेयर सदस्यहरुको रकमलाई सहकारीले सुरक्षित र आवश्यक क्षेत्रमा उचित किसिमले लगानी गरेको बताए । सहकारीका शेयर सदस्य गोविन्द नेपालले जिल्लामा रारा सहकारी अब्बल बन्दै गएकोमा खुसी व्यक्त गरे । सोही अवसरमा सहकारीले शेयर सदस्य मध्ये १४ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । कार्यक्रममा सहकारीका लेखा समितिका संयोजक यज्ञप्रसाद श्रेष्ठले २३ करोड २२ लाख ५४ हजार ७ सय ६९ बराबरको आय–व्यय प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, उपाध्यक्ष सञ्जय प्रधानको स्वागत, सचिव अरुणप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update