Shittalpati
बिजुली बिक्रीबाट करिब ८ अर्ब आम्दानी

पाल्पा, नेपालले विजुली विक्रीबाट करिब ८ अर्ब आम्दानी गरेको छ । उसले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी ४ महिनामा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी गरेको हो । यो अवधिमा भारतर्फको विद्युत निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

त्यसयता अर्थात् असोज २५ सम्म १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आईएक्समा विक्री गरिएको थियो । त्यसपछि जेठ २७ बाट ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३ सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा विक्री हुँदै आएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँबराबरको भारतीय मुद्रा नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update