Shittalpati
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित

तानसेन, कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ । लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । ‘बैंकमा ऋण छ, मासिक किस्ता र व्याज नै ६ लाख वढी तिर्नुपर्छ’, तानसेनमा होटल व्यवसाय गर्ने लक्ष्मण बस्याल भन्छन् । ऐतिहासिक र सांस्कृतिक नगरीको परिचय बनाएको तानसेनमा पयर्टन प्रवद्र्धनका कार्यक्रम नहँुदा यहाँका व्यवसाय चल्न नसक्ने स्थितिमा पुगेका हुन् ।

तानसेन र बुटवलमा दुई वटा होटल सञ्चालन गर्दै आएका व्यवसायी मोहन श्रेष्ठ भन्छन्, ‘खर्च मात्रै धान्न सके हुन्थ्यो भन्ने स्थितिमा छौँ, पहिला भन्दा सस्तोमा कोठा दिँदासमेत मान्छे आउँदैनन् ।’ पाल्पा जिल्लामा सदरमुकाम तानसेनसहित रामपुर, छहरा, बतासे, अर्गली, हार्थोक, ताँहु, आर्यभञ्ज्याङ व्यापारिक केन्द्र हुन् । यहाँ चार हजार बढी व्यापार व्यवसाय गर्नेहरु छन् । जसमा साना ठूला गरी ८० वटा होटल व्यवसाय सञ्चालनमा छन् । त्यसमध्ये २० प्रतिशत व्यवसायी पेशाबाट पलायन हुने अवस्थामा छन् । ‘दैनिक ८/१० जनाले पसल किन्ने मान्छे खोजिदिनु परो भन्छन्’, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन । ‘राज्यले बेलैमा नसोच्ने हो भने अधिकांशको व्यवसाय टाट पल्टने अवस्थामा छन्’ उनले भने । कतिपयले जेनतेन व्यवसाय सञ्चालन गर्दै सूचना टाँस गरेका छन् । कतिपयले व्यवसाय नै बन्द गरिसकेका छन् । पाल्पा व्यापार संघमा यहाँका ८ सय व्यापार व्यवसाय गर्ने आवद्ध छन् । संस्थाका अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार उनीहरुमध्ये २० प्रतिशत व्यवसायी विकल्पको खोजीमा छन् । ‘व्यवसाय चलेन, पसल बिक्यो भने अरु केही गर्थै’ भन्छन्, पोखरेल । तानसेन नगरपालिकाले लकडाउन पछी विदेशबाट फर्किएका युवालाई कृषि र पशुपालनमा जोडेको थियो । अहिले उसले पर्यटन प्रवद्र्धनलाई जोड दिएको छ ।

ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई समेटेर आन्तरिक तथा बाह्य पर्यटक तान्न विभिन्न कार्यक्रम ल्याइएको नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीको भनाइ छ । कार्कीका अनुसार तानसेन नगरपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको छ । पोखरा जाने पर्यटक तानसेन राख्ने वातावरण बनेको छैन् । तानसेन आइपुग्ने मुख्यद्वार ‘सिद्धबाबा’ बाटोको कारण अलोकप्रिय बनेको छ । यहाँको खानेपानी ‘ट्याङ्कर’ले धानेको छ । स्थानीय तहको पुनःसंरचना पछि विभिन्न पालिकाले सोझै बुटवल आवत–जावतको वैकल्पिक सडक निर्माण गरेका छन् । –रासस

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update