Shittalpati
कुमारी बैंकको डिबेञ्चर बाँडफाँट

पाल्पा, कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ । भदौ १७ देखि ३१ सम्म निष्कासन गरेको उक्त ऋणपत्र बैंकले बाँडफाँट गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले ३ अर्ब बराबरको ३० लाख कित्ता निष्कासन गर्ने स्वीकृति पाएको थियो । निष्कासन गर्न स्वीकृत पाएको कुल ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट खुला गरेको थियो ।

उक्त ऋणपत्रमा व्यक्तिगत तथा सार्वजनिक निष्कासन गरी जम्मा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको बैंकले जनाएको छ । त्यसमध्ये रित पूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ । यस्तै बैंकले पहिलो पटक भिसा कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकले ३० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउने योजना ल्याएको छ । योजनामा बैंकको कार्ड र क्यूआरमार्फत कारोबार गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले र इलेक्ट्रिक स्कुटर पाउने बैंकले जनाएको छ ।

कुमारी मोबाइल बैंकिङएप मार्फत एनटिसी, एनसेल र स्मार्टसेलका लागि पहिलो पटक टपअप गर्दा ३० प्रतिशत वा अधिकतम १ सय रुपैयाँसम्म क्यासब्याक पाउने बताइएको छ । त्यस्तै, दसैं टिकाको साइतको समयमा दक्षिणा पोर्टल प्रयोग गर्ने पहिलो २० जना ग्राहकलाई १ सय प्रतिशत क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ । आफ्ना देशव्यापी १ सय ९८ शाखा सञ्जाल, १ सय ९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update