Shittalpati
कुमारी बैंकको ऋणपत्र निष्कासन

पाल्पा, कुमारी बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ ।

बैंकले ११ प्रतिशत ब्याजदर दिने गरी १० वर्ष अवधिको ऋणपत्र निष्कासनमा ल्याएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनमा ल्याएको छ । जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिने र बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र खरिदका लागि छिटोमा २१ भदौसम्ममा आवेदन दिनुपर्ने र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि ३१ भदौसम्म थप हुनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा ईक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ईक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम भएको संस्था संकेत गर्छ ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update