Shittalpati
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही

पाल्पा, नेपाल राष्ट्र बैंकले यो वर्ष भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ । यो वर्ष पनि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी थालेको हो ।

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउनेछन् । राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिनेछ । यसरी बढीमा १८ हजार ५ सय रुपैयाँ सम्म नयाँ नोटको सटही गर्न पाइने छ । त्यसभन्दा बढी पैसा आवश्यक हुनेले पुराना तर सफा नोट पाउने छन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने छ । चालु आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालयहरु र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । यद्यपि दसैँ, तिहार र छठका लागि सर्वसाधारण बाट नयाँ नोटको माग धेरै आउने गरेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ अन्तिम सातादेखि सहज तरिकाले नयाँ नोट वितरणको वातावरण मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update