Shittalpati
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड

गुल्मी, आर्थिक संकटमा परेको जिल्लाकोसबै भन्दा पुरानो रेसुङ्गा बहुमुखी क्याम्पसलाई स्थानीय सरकारले एक करोड दिने भएको छ । आर्थिक संकटमा परेको क्याम्पसलाई केही भएर पनि राहत दिने गरी रेसुङ्गा नगर सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको हो ।

जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसमा आर्थिक दायित्व बढेकाले नगर सरकारको तर्फबाट एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । गुल्मीको भाग्य र भविष्यसंग जोडिएको क्याम्पसको समुन्नतिका लागि नगर सरकार प्रतिवद्ध रहेको भन्दै नगरप्रमुख पन्थीले आर्थिक संकटका बेला केही भएर पनि आर्थिक सहयोग पुग्ने उद्देश्यले सहयोग गर्न लागिएको बताए । उनले दीर्घकालीन समाधानका लागिसबै मिलेर सहयोग गर्न समेत आग्रह गरेका छन् । क्याम्पस सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले अल्पकालीन समयका लागि आर्थिक संकटकालको घोषणा गर्ने निर्णय गरेको थियो ।

विसं २०३९ सालमा स्थापना भएको क्याम्पसले व्यवस्थापनमा आर्थिक समस्या भएको भन्दै आर्थिक संकटकाल घोषणा हो । पूर्वमन्त्रीहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री, पूर्व सांसद चन्द्र भण्डारी लगायतका प्रभावशाली नेताहरु रहेको जिल्लाको क्याम्पसले नै आर्थिक संकटकाल घोषणा गरेपछि अहिले व्यापक चर्चा भएको छ । राजनीतिक र सरकारको नेतृत्वमा पुगेका नेताहरुकै जिल्लाको शैक्षिक धरोहर आर्थिक संकटमा परेको भन्दै धेरैले नेताहरुको खिल्ली उडाएका छन् । क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययन/अध्यापन हुँदै आएको छ । हाल यस क्याम्पसमा ७ सय ६० विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसमा पूर्णकालीन प्राध्यापक २४ जना र १० जना आंशिक प्राध्यापक मध्ये ७ जना प्राध्यापनरत छन् । पूर्णकालीन कर्मचारी १० जना रहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update