Shittalpati
विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा नबसे कारवाही !

रामचन्द्र रायमाझी
पाल्पा, चैत, तपाई कुनै कोरोना संक्रमित देशबाट भर्खरै आउनुभएको छ ? आएर पनि कतै लुकीछिमी बस्नु भएको त छैन ? तपाईलाई कोरोनाको कुनै लक्षण देखिएको छ ? यदि छ भने तपाई तत्कालै नजिकै रहेको क्वारेन्टाइनमा बसिहाल्नुस् । तपाईको सानो लापरवाहीले घर परिवार,आफ्न्ता, छरकिमेकी समेतलाई असर पर्न सक्छन् । यदि तपाई अटेर गरी खुलेआम हिडिरहनु भएको छ भने कारवाहीको भागिदार समेत हुनु हुने छ । यदि तपाईले सरकारको निर्देशनलाई अटेरी गर्नुुहन्छ भने प्रहरीले पक्राउ गरी जेल सजायसमेत गर्न सक्ने छ । सरकारले ‘संक्रमण रोग ऐन’अनुसार त्यस्ता व्यक्तिलाई कडा कारवाही गर्ने भएको छ । आशङ्कामा रहेका कुनै व्यक्ति तपाईको घर समाज नजिक लुकीछिपी बसेका छन् भने त्यस्ता व्यक्तिलाई समेत कारवाही हुने भएको छ । सरकारले क्वारेन्टाइनमा बसेका वा कुनै पनि आशङ्का देखिएका व्यक्ति सूचना नदिएर लुकेर गाँउघरमा बस्ने सम्पर्कमा नआउने प्रवृत्ति बढेकाले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने भएको हो ।


यता जिल्लामा कोरोना (कोभिड १९) संक्रमण, रोकथाम तथा उपचारार्थ गठित कमाण्ड पोष्टको बैठकले पनि भारत लगायतका मुलुकबाट आएका मानिसलाई क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्ने समेत निर्णय गरेको छ । बैंठकले विदेशबाट आएका नागरिक गाउँमा खुलेआम हिडिरहेका भन्ने कुराबाहिर आएपछि उनीहरूलाई आवश्यकताका आधारमा क्वारेन्टाइनभित्र राख्न स्थानीय तहलाई निर्देशन समेत दिएको छ । जिल्लाका स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेपनि विदेशबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा नराख्दा स्थानीयमा त्रास बढेको छ ।


कोरोना भाइरसको सम्भावित संक्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका लागि स्थानीय तहले तीन सय बढी क्वारेन्टाइनहरु निर्माण गरेपनि अधिकांस खाली नै रहेका छन् । भारत तथा तेस्रो देशबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्नै नमानेपछि स्थानीय तहले विद्यालय, स्वास्थ्य संस्था तथा खाली चौरलाई उपयोग गर्दै निर्माण गरेका अधिकांश क्वारेन्टाइनहरु खाली रहेका हुन् । सरकारले कोरोना भाइरस सक्रमण रोक्नका लागि लकडाउन र विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिएपनि विदेशबाट आएका धेरै व्यक्तिहरु खुलेआम घुमेका छन् ।
जिल्लामा चैत १४ गतेसम्म १ हजार १ सयको संख्यामा भारत लगायत तेस्रो मुलुकबाट नागरिकहरु जिल्ला प्रवेश गरिसकेका छन् । उनीहरुबाट कोरोना संक्रमणको उच्च जोखिम रहने सम्भावना रहेकाले प्रत्येक स्थानीय सरकारहरुले क्वारेन्टाइनको व्यवस्था मिलाए पनि अधिकांश नागरिक क्वारेन्टाइनमा बस्न नमान्ने गरेको सम्बन्धित स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।


भारत लगायत तेस्रो मुलकबाट गाउँ र शहरमा भित्रिएकाहरु नागरिक खुलेआम हिंडडुल गर्न थालेपछि उनीहरुलाई क्वारेन्टाइन र घरमै राख्ने चुनौती थपिएको छ । जनप्रतिनिधिहरु, चिकित्सक, स्थानीयतहका स्वास्थ्यकर्मीहरु सहित आमनागरिकलाई भारत सहित अन्य देशबाट घर फर्किएकाहरु क्वारेन्टाइनमा राख्न सकस भएको छ । तराइको सिमानासँग जोडिएका तिनाउ, माथागढी, रैनादेवी छहरा र निस्दी गाउँपालिकाको बाटो भएर विभिन्न नाकाहरुबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने गरेका छन् । जसले गर्दा कोरोना संक्रमणको जोखिम रहने भन्दै स्थानीयवासीहरुले चिन्ता व्यक्त गरिहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update