Shittalpati
मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो

पाल्पा, नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै बिहीबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा ६/६ रुपैयाँ बढाएको हो ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ७८ पर्ने छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर रु. १ सय ७२ थियो । त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखेको निगमले जनाएको छ । पेट्रोलको विक्री मूल्य प्रतिलिटर १ सय ८१, हवाई इन्धन (आन्तरिक) को १ सय ९०, हवाई इन्धन (बाह्यको एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर एक हजार ८ सय कायमै छ । मूल्य समायोजन पश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।

एलपी ग्याँसमा अझै प्रतिसिलिण्डर ३ सय ७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढेको हो । पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक विक्रीबाट संकलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि अझै २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update