Shittalpati
पाल्पामा थप ३७ जना संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १९ जना महिला र १८ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १७ जना, रैनादेवी छहरा गाउँपालिकाका ६ जना, माथागढी गाउँपालिकाका, रिब्दीकोट गाउँपालिकाका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका ३/३ जना, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या १२ हजार ४ सय ७९ पुगेको छ । जसमा ५ हजार ७ सय २९ महिला र ६ हजार ७ सय ५० जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षणमा १ जना र एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण देखिएको हो । पिसिआर परीक्षणमा तानसेन नगरपालिकाका १ मा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा पिसिआर परीक्षणबाट संक्रमित हुनेको संख्या ७ हजार २९ पुगेको छ ।

यस्तै एन्टिजेन परीक्षण गर्दा पूर्वखोला, तानसेनका २/२ जना, माथागढी, रैनादेवी छहरा, रम्भा र बगनासकालीका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार ७ सय ४५ पुगेको छ । जिल्लामा अहिलेसम्म २६ जना सक्रिय संक्रमित रहेका छन् । सबै संक्रमितको होम आइशोलेसनमा रहेर उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update