Shittalpati
नहराओस् तिज पर्वको मौलिकता

दुर्गाप्रसाद अर्याल
विगत दुई चार दिनदेखि नायिका एलिजा गौतमले तिजको दर खाने कार्यक्रममा नाचेको नाँच र त्यस पछि त्यस्तै किसिमका नाँचहरुले सामाजिक सञ्जालमा व्यापकता पाएको छ । यस्तै अर्को समूहले तिजकै दर खाने कार्यक्रममा दरसँगै मादक पदार्थ सेवन गरेको दृश्यले सामाजिक सञ्जालमा व्यापक स्थान पाएको देखिन्छ । यी उल्लेखीत विषय वस्तुहरु पछिल्लो समयमा तिज पर्वमा भित्रिएको विकृतिको प्रतिनिधि रुपमात्र हो । नेपाली समाजले यस्ता घटनालाई स्विकार गरी नसकेको र त्यस दिशामा गई नसकेकाले यस विषयको व्यापक आलोचना भएको देखिन्छ । तिज हाम्रो मौलिक पहिचान दिने हिन्दु नारीहरुको एक मात्र महान पर्व हो । यस पर्वको साँस्कृतिक, मौलिक र धार्मिक पक्षलाई जीवीतै राख्नु हामी सबैको कर्तव्य हुन आउँदछ । एक दिनको रमाईलोका लागि यस पर्वमा विकृतिलाई प्रवेस नगराऊ । यी उल्लेखीत घटनाले हाम्रो समाज कतै आधुनिकताको नाममा मौलिकतालाई बिर्सदै त छैन ? प्रश्न चिन्ह भने खडा गरेको देखिन्छ । तिज पर्व यसको मौलिक तथा विविध पक्षहरुलाई यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

धार्मिक कथन अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन दिएका थिए तर पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको तपस्या गरेको एक सय वर्ष पुरा हुँदा पनि आफूले गरेको तपस्याको फल नपाउदा एक दिन उनले शिव लि· स्थापना गरी निराहार व्रत बसिन् । यसरी पार्वती कठोर व्रत बसेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशीर्वाद दिए पछि शिव र पार्वतीको विवाह हुन पुग्यो । उक्त दिन भाद्र शुक्ल तृतीयका दिन पर्ने र सोहि दिनलाई हिन्दु नारीहरुले हरीतालीका तिज पर्वको रुपमा मान्दै आएको भन्ने धार्मिक तथा ऐतिहासिक कथनबाट थाहा पाउन सकिन्छ । यी उल्लेखीत मान्यतालाई अनुसरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु र सुस्वाथ्यको कामना गर्दै र अविवाहीत महिलाले राम्रो र सुयोग्य वर पाऊ भनी तिज व्रत बस्ने चलन रहेको छ भने तिजको अघिल्लो दिन साँझ अर्को दिनको निराहार व्रतका लागि शक्ति प्राप्तिका लागि मीठा र अडिलो परिकारलाई दरका रुपमा खाने गरिन्छ । यस पर्वमा भगवान शिवको आराधाना गर्नुका साथै नाचगान र मिठो मसिनो खानुका साथै आफ्ना दिदि बहिनीलाई घरमा निम्त्याउने काम गरिन्छ ।

महिलाहरुले वर्ष दिनमा आफूलाई परेको समस्या, देखे भोगेका कुराहरु, पीर मर्कालाई पोख्ने पर्वको रुपमा रहेको यस पर्व ग्रामीण र दुर्गम क्षेत्रमा मौलिकतालाई कायमै राखि मनाएको देखिन्छ भने शहर बजारमा आधुनिकतासँगै यसको मौलिकता हराउदै गहिरहेको देखिन्छ । फेरिएको जीवनशैली सामाजिक सञ्जाल र सञ्चार साधनको व्यापक विस्तारसँगै यस पर्वको मौलिकता र साँस्कृतिक पक्ष हराउदै गहिरहेको देखिन्छ । यसको प्रत्यक्ष प्रभाव गाउने गीतमा प्रयोग गरिएका शब्द, दरको नाममा खाने गरिएका खानेकुराहरु, लगाउने कपडा तथा गरगहना, भेषभुषा, नाच्ने तरिका, पर्व मान्ने ठाँउ आदिमा व्यापक परिवर्तन आएको देखिन्छ । यी पक्षमा सुधार र सचेत नहुने हो भने तिज पर्वको महत्व र यसको मौलिकपन समाप्त हुने हो की भन्ने आशंका भने उत्पन्न गराएको छ ।

विगतका वर्षहरुमा तिज पर्वको पूर्वसन्धयामा कलाकारले ल्याउने गीतहरुमा नेपाली समाजलाई अपाच्य हुने शब्द चयन गरी व्यवसायिक र सस्तो लोकप्रीयता कमाउने प्रयास गरेको देखिन्थ्यो भने यो वर्ष राज्य पक्षबाट पहिले नै चासो राख्दा यस्ता शव्द चयनका तिज गीतहरु बजारमा सुन्नु परेको छैन । तिज गीतमा गर्न खोजिएको नियन्त्रण जस्तै यस पर्व मनाउँदा अपनाईएको भड्किलोपनमा पनि नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जानु जरुरी देखिन्छ । पछिल्ला वर्षदेखि यस पर्वले आर्थिक रुपमा सम्पन्न र कमजोर बिच ठूलो विभेद खडा गर्दै लगेको देखिन्छ । हुने वर्गलाई गरगहना, लुगा कपडा, दर खाने तरिकामा अलि भड्किलो हुँदै गहिरहेको देखिन्छ भने नहुने वर्गमा यसले आर्थिक समस्या थपिदिएको छ । यसका साथै निराशा र खिन्नता उत्पन्न गराएको देखिन्छ । बाध्य भएर ऋण खोजी खोजी पर्व मनाउनुपर्ने वातावरण सिर्जना भएको देखिन्छ । यस पर्वको पछिल्लो समयमा देखिएको नकरात्मक पक्ष भनेको यो पर्व करिव दुई महिनासम्म मनाउन थालिनु जसको कारण नागरिकको आर्थिक पक्ष खर्चिलो र भड्किलो बन्दै जानु, तिज पर्व विशेषमा खाने मौलिक तथा परम्परागत खानाहरु हराउँदै जानु जसको स्थान विदेशी खानाहरुले लिनु, होटल रिसोर्टमा मनाउन थाल्नु, तिज विशेषका गीत हैन यसका सट्टामा हिन्दी र यस्तै खालका गीतले स्थान पाउनु, गीतको छनोटसँगै नाँचमा पनि परिवर्तन हुनु । यस्ता विकृति र विसंगतिले हाम्रा चाड पर्वलाई नै संकटमा पु¥याउने भएकाले बेलैमा सचेत भै भावी पुस्ताका लागि यसको मौलिकता जोगाउनुतर्फ लाग्नु पर्ने देखिन्छ ।

खर्चिलो र भड्कीलो तिज पर्व होइन मौलिक र परम्परागत तिज पर्वको अवलम्वन तथा अभ्यासका लागि महिला वर्ग नै लाग्नु पर्ने देखिन्छ । यो पर्वको मौलिक र विशिष्ट पहिचानलाई जोगाई आलोचना र विकृतिबाट बचाऊ । तिज गीत तिज गीतकै स्तरमा हुनु पर्दछ । यसले रतौलीको रुप लिनु हुँदैन, होटल र रिसोर्टमा, विदेशी खाना र मादक पदार्थ तथा, गीत र नाचसँग हैन हाम्रै पूर्खाले सुरुवात गरेको शैलीलाई नै अपनाउनुपर्छ । कथित् आधुनिकताका नाममा तिज मनाउँदा तिजको पहिचान नै गुम्ने स्थिति कदापी आउनु हुँदैन । चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नु हुँदैन भन्ने कुरालाई सबैले मनन् गर्न जरुरी छ । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिज पर्व २०७९ को सम्पूर्ण नारी वर्गमा हार्दिक मंगलमय शुभकामना !
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update