Shittalpati
पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह

रामचन्द्र रायमाझी
पाल्पा,पाल्पाका सहकारी अभियान्ताहरुले जिल्लामा सहकारी बैंकको शाखा ल्याउनु पर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंक बुटवल शाखाले तानसेनमा आयोजना गरेको सहकारी संघ/संस्था र सहकारी बैंक बिचको अन्तक्र्रिया कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारीको पूँजीलाई थप व्यवस्थित र सुरक्षित राख्न सहकारी बैंकको शाखा पाल्पामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सहकारीको पैसा सहकारीमै राख्न सके सहकारीहरु दीगो र मजबूद बन्न सक्ने भन्दै सहकारी बैंकको शाखा पाल्पामा आवश्यक रहेको औल्याए ।
खुल्ला छलफल कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि. पाल्पाका अध्यक्ष जगदीश भट्टराईले पाल्पामा सहकारीहरु अब्बल बन्दै गएकाले सहकारीको दीगोपना र थप मजबूद बनाई अगाडि लैजान राष्ट्रिय सहकारी बैंकको शाखा आवश्यक रहेको औल्याए । उनले सहकारीमा संकलन भएको रकम नीजि बैंकहरुमा लैजानुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न पाल्पामा सहकारी बैंकको शाखा विस्तार गर्न बैंक सञ्चालकहरुलाई आग्रह गरे । सहकारी अभियान्ता धनिश्वर बस्यालले सहकारी नेपाली माटो सुहाँदो भएकाले सहकारीको विस्तार र विकासका लागि सहकारी बैंक भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । उनले पाल्पामा थुप्रै सहकारीहरु सञ्चालनमा रहेकाले त्यहाँको रकम सहकारी बैंकमै राख्न सके राम्रो हुने भन्दै पाल्पाली सहकारी अभियान्ताहरु सहकारी बैंकको शाखा छिट्टै पाल्पामा विस्तार भएको हेर्न आतुर रहेको बताए । त्यस्तै अर्का सहकारी अभियान्ता केशप्रसाद खनालले सहकारी क्षेत्रमा रहेको तरलताको रकम सहकारी बैंक मै राख्नुपर्नेमा जोड दिए । सहकारी क्षेत्रमा रहेको रकमलाई सहकारी बैंकमा राखेर कारोबार गर्न सके सहकारी अभियानलाई थप विस्तार गर्न सकिने भन्दै उनले पाल्पामा सहकारी बैंकको शाखा ल्याउन आग्रह गरे । कार्यक्रममा सहकारी अभियान्ताहरु खेमराज न्यौपाने, चोपलाल गिरी, लक्ष्मी ढाकाल, विष्णु बम्रेल, सुरेश ढकाल, कृष्णप्रसाद आचार्य लगायतले सहकारीलाई समस्या आउँदा सहयोग गर्ने, समन्वय गर्ने तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सहकारीका निकायलाई सबल, सक्षम र प्रभावकारी बनाउन सहकारीको रकम सहकारीमै राख्नुपर्नेमा जोड दिए । उनीहरुले छिट्टै
सहकारी बैंकको शाखा ल्याउन पनि सञ्चालकहरुलाई आग्रह गरे ।
कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनका सहकारीहरुको विस्तार, विकास र प्रवद्र्धन गर्न नगर सरकारले विशेष चासो देखाउँदै आएको बताए । उनले तानसेन भित्र रहेका ५२ वटाहरु सहकारीको अनुगम, नियमन र प्रशिक्षण दिने काम गरिदै आइएको बताए । प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले तानसेनको अनुकूलतालाई हेरेर लगानी गर्न राष्ट्रिय सहकारी बैंकलाई आग्रह समेत गरे । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले २०६० सालमा स्थापना भएको बैंकले सहकारी संस्थाहरुले संकलन गरेको रकम बचत गर्दै आएको बताए । उनले विश्वका धेरै राष्ट्रहरु सहकारीका माध्यमबाट समृद्धि र सम्पन्न भएको भन्दै अध्यक्ष उप्रेतीले सहकारीको सवालमा सबै एक हुनुपर्ने बताए । उनले सहकारीको रकमलाई सुरक्षित राख्न र सहकारीलाई मजबूद बनाउन सकहारी बैंकमा रकम बचत गर्न जिल्लाका सहकारी कर्मीहरुलाई आग्रह गरे । अध्यक्ष उप्रेतीले जिल्लाका सहकारीहरुको मागको आधारमा छिट्टै सहकारी बैंकको शाखा विस्तार गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालकी सञ्चालक अञ्जु जिसीले सहकारीमा देखिएका विकृतिहरुलाई चिर्न सहकारी अभियान्ताहरु सक्रिय भएर लाग्न आग्रह गरिन् । सहकारीले गरेका राम्रा कामहरुको प्रचार–प्रसार हुन नसक्दा सहकारीको बदनाम हुने गरेको उनले बताइन् । राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धितालले सहकारीहरुलाई सक्षम बनाउने उद्देश्य सहकारी बैंकको रहेको बताइन् । तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गा थापाले स्थानीय सरकारले सहकारीलाई अत्यन्त महत्वका साथ हेरेको बताए । उनले तानसेनका सहकारीहरुलाई सशक्त बनाउन सहकारी सञ्जाल नै गठन गरी नगर सरकारले काम गर्दै आएको बताए । विचौलियाहरुको अन्त्य गर्न र ग्रामीण क्षेत्रका नागरिकहरुको जीवस्तर उकास्ने दिशामा नगर सरकार लागि परेको थापाले बताए । बगनासकाली गाउँपालिकाका सहकारी विभाग प्रमुख यादव न्यौपानेले ग्रामीण क्षेत्रमा रहेका सहकारीहरुको प्रवद्र्धनमा चुनौतीपूर्ण रहेकाले केन्द्रमा रहेका सहकारी अभियान्ताहरुले यसतर्फ ध्यान दिनुपर्ने बताए । तानसेन सहकारी सञ्जालका अध्यक्ष महेश्वर पन्तले सहकारी बैंकको विश्वसनियता, बैद्यताका विषयमा सहकारी अभियान्ताहरुलाई प्रष्ट गराउनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बुटवल शाखाका प्रमुख नारायण बेल्वासेले सहकारी के हो ?, त्यसको उद्देश्य, नेपालमा सहकारी अभियानको अवस्था, राष्ट्रिय सहकारी बैंकको उद्देश्य, काम, बैंकका प्रमुख वित्तिय सूचकहरु, बकैंका आगामी योजना लगायतका विषयमा जानकारी गराएका थिए । बचत तथा ऋण सहकारी संस्था पाल्पाकाको समन्वयमा भएको कार्यक्रममा जिल्लाका सहकारीकर्मी, अभियान्ता र स्थानीय सरकारका सहकारी विभाग प्रमुखहरुको उपस्थिती रहेको थियो । बैंकका अध्यक्ष केपी उप्रेतीको अध्यक्षता, बचत तथा ऋण सहकारी संस्था
पाल्पाका अध्यक्ष जगदीश भट्टराईको स्वागत, सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update