Shittalpati
कानूनका जान्नै पर्ने सामान्य कुरा

शंकर शर्मा (बस्याल)
तानसेन, पाल्पा
जीवनमा जान्नै पर्ने कुरा मध्य एउटा हो ‘अनुशासन’ । ‘अनुशासन भनेको Per Perthings per per place अर्थात् सही चिज सही ठाउँ हो । अर्को शब्दमा ‘अनुशासन’ भनेको निति नियममा चल्नु पर्छ भन्ने कुरा सिकाउने शब्द पनि हो । त्यसैले हामी निर्धक्क भएर भन्ने गर्छौ–अनुशासनमा हिड्, तिम्रो कल्याण हुन्छ । अर्थात् अर्को वाक्यमा भन्ने हो भने अनुशासन भनेको निति नियम ऐन र संविधानको जननी हुन् । जसलाई नै हामीले “कानून” भनेर बुझे हुन्छ । यसलाई अझ यसरी बुझ्दा सजिलो हुन्छ– “नबिराउनु, नडराउन” कानूनी क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता पाएको यो भनाईले पनि उपरोक्त तथ्यलाई पुष्टी गर्दछ । “नबिराउनु” अर्थात् अनुशासनमा रहनु अर्थात् नीति नियम ऐन र संविधानको एउटै शब्दमा बुझिने गरी भनेको हो । गल्ती नगर्नेले सजाय सहनु पर्दैन । त्यसैले “नबिराउनु, नडराउन” भने को हो । सामान्य अर्थमा सजाय भनेको–दण्डजरिवाना तिर्नु वा नसहित दिनु वा जेलजानु नै हो । तसर्थ निचोड के हो भने गल्ती नगरे डराउनु पर्दैन । गल्तीलाई मूख्य रुपमा २ भागमा बाडिएको छ । फौजदारी प्रकृतिको गल्ती र देवानी प्रकृतिको गल्ती । ती दुबैलाई पनि फेरी २/२ भागमा बाडिएको छ । सरकार वादी भई सरकारले नै मुद्दा चलाउने गल्तीहरु र व्यक्ति वादी भई व्यक्ति आफैले मुद्दा चलाउने गल्तीहरु । कानूनको यो क्षेत्र अत्यन्त फराकिलो भएकाले यतिले नै पर्याप्त हुँदैन । यसर्थ कानूनका व्यापक विषयमा अन्य अंकमा उल्लेख गर्ने गरी अहिले यहाँ कानूनको सामन्य जानकारीका विषयमा केन्द्रीत रहेर चर्चापरीचर्चा गर्ने प्रयास गरिएको छ ।

भनिन्छ, ‘कानुनको अज्ञानता क्षम्य हुनेछैन ।’ कानुन समाजमा शान्ति, सुव्यवस्था कायम गर्न राज्यका सर्वोच्च शक्तिद्वारा लागू गरिएका सबै प्रकारका नियम वा सिद्धान्तहरुको संगालो हो । समाजलाई सही दिशामा मार्गदर्शन गर्न कानुनको आवश्यकता पर्छ । कानुन बन्धन मात्र नभई सुकार्यमा लाग्न प्रेरित गर्ने र समाजमा अनुशासन कायम गर्न आवश्यक शिक्षा समेत हो । कानुन अन्तर्गत राज्यको मूल कानुनका रुपमा रहेको संविधान, ऐन, नियमावली, नियमहरु, विनियमहरु पर्दछन् । यसर्थ यहाँ कानूनका लागि जान्नै पर्ने सामन्य कुराहरुलाई मात्र बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

क. कानूनको अज्ञानता क्षम्य हँुदैन । अर्थात् कानूनले आफूलाई सबैले चिनेको छ भन्छ । तिमीले यो यो गल्ती गरेछौं, त्यसैले यो यो सजाय हुन्छ भन्दा मलाई कानून थाहा भएन, जानिन, अब उप्रान्त यस्तो काम गर्ने छैन, यो पटकलाई माफी पाउँ भनेर उम्कन वा उन्मुक्ति लिन पाईदैन । तसर्थ कमसेकम कानूनका सामान्य कुरा प्रत्येक सचेत नागरिकले जान्नै पर्दछ ।

ख. सार्वजनिक हित विपरित काम गर्नु हुँदैन । गल्ती गर्नेले नै क्षति व्यहोर्नुपर्छ । अरुलाई दुःख दिन पाईदैन । असल छिमेकीपन देखाउनु पर्छ । प्रत्येक व्यक्तिले प्रत्येक व्यक्तिको अस्त्वि स्वीकार गर्नु पर्छ । बाटोघाटो, कुलो, मठ मन्दिर, चर्च, मस्जीद, चौतारी, पाटीपौवा, बनजंगल, चौर, पानी आदीका पाईप, इनार, विद्युत तार, केबुल आदी जस्ता चिज बस्तु चलाउन, बिगार्न वा अवरोध गर्न हँुदैन । निरन्तर सेवामा चल्न र बग्न दिनुपर्छ । रेडियो, टिभी, म्युजिक प्लेयर बजाउदाँ वा गित गाउँदा, नाच्दा, कुनै पार्टी, उत्सव मनाउँदा वा बोल्दा, छलफल गर्दा समेत ठिक्क तरिकाले भरसक अरुलाई डिस्टर्व नहुने गरी गर्नुपर्छ । कसैलाई हेलाहोचो गर्न पाईदैन । सबै मानिसका हक अधिकार स्वीकार गर्नुपर्छ । जात भात, योग्यता, सम्पत्ति, पेशा, व्यवसाय, पद, उमेर, कालो, गोरो, नाता, सम्बन्ध आदीको कारणले कसैले कसैलाई भेदभाव गर्न वा होच्याउन वा तल्लो दर्जामा राख्न वा छोइ छिटो गर्न पाईदैन । कानूनको दृष्टिमा हामी सबै समान हौं । छिमेकमा राम्रो व्यवहार गर्नुपर्छ । अर्को छिमेकीलाई असर पर्ने काम गर्नु हुँदैन । आफ्नो हक भोगको घेरा भित्र रहेर असल छिमेकी बनी मानव सभ्यतालाई सुदृढ बनाउँदै जानुपर्छ । मोबाईल वा म्यासेज आदीमा कुरा गर्दा वा विद्युतीय माध्यमबाट खबर सन्देश पठाउदाँ वा सुनाउँदा अपशब्द वा अरुको ईज्जतमा धक्का पुग्ने गरी गुर्न हुदैन । मन नपर्ने व्यक्ति नै किन नहोस् मर्यादा पूर्वक बोल्न र लेख्नु पर्दछ । उपरोक्त अनुसार नगरेमा निजका उपरमा असर पर्ने जो कोहीले पनि उजुर गर्न सक्छ र सजाय भोग्नु पर्दछ । तसर्थ यो कुरा जानी सके पछि उपरोक्त कार्य नगरी सके सम्म सबैसँग सद व्यवहार गरी प्रहरी प्रशासन, न्याय र कानूनलाई मद्दत गरौं ।

ग. कानून बमोजिमको काम “कसूर” हुँदैन । कसैले गरेको कामबाट कसैलाई असर परेन भने त्यो “कसूर” हुँदैन । कुनै व्यक्ति, संस्था, समाज र राज्यलाई हानी नोक्सानी नहुने काम गर्न पाईन्छ । कसैले कुनै काम गर्दा पनि कानूनले नै सजाय दिने हँुदा कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुनु पर्दैन । उसलाई कुनै मुद्दा लाग्न र सजाय गर्न मिल्दैन । कसैले झुठ्ठो आरोप लगायो भने उल्टै उसैलाई दण्ड हुन्छ ।

घ. जानी राखौं । एउटै कसूरमा २ पटक सजाय हुँदैन । अड्डा अदालतमा जाँदासफा हात र विशुद्ध मन लिएर जानु पर्दछ । कानूनले तिनै व्यक्तिलाई मद्दत गर्दछ– जो आफै अनुशासित र कञ्चन छ । अन्यायमा परियो भने सहेर बस्ने हैन, त्यसको विरुद्धमा जानु पर्छ किन की “अन्याय गर्नु भन्दा अन्याय सहनु ठूलो अपराध” हो भनिन्छ । एउटाले अन्याय सहँदा अन्याय गर्नेको मनस्थिती बढेर अरुलाई पनि अन्याय गर्दै जान्छ । त्यसको लागि तपाई कुनै वकिलसँग जानुहोस् । आफ्ना कुरा राख्नुहोस्, कुरा राख्दा पैसा लाग्दैन र पूर्ण रुपमा गोप्य रहन्छ । पैसा सामान्य लाग्छ, हैन भने निशुल्क पनि गर्ने व्यवस्था छ । त्यसको लागि तपाईले केवल एउटै काम गर्नुपर्छ, त्यो हो –वकिलसँग जाने । याद गर्नुहोस् – अन्यायको विरुद्धमा जाँदा कुनै ठूलो खर्च हँुदैन । धेरै खर्च हुन्छ, फटाफट काम हुन्न र दुःख पाईन्छ भन्ने कुरा बजारमा हल्ला मात्र हुन् । वकिलहरु तपाईलाई सहयोग गर्न भनेर आतुर हुँदै कलम तिखारेर बस्नु भएको छ । त्यस्तै अड्डा अदालतका कर्मचारी वर्गहरु पनि तपाईको कामको प्रतिक्षामा बस्नु भएकै हुन्छ ।
(लेखक अधिवक्ता तथा नोटरी पब्लिक समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update