Shittalpati
मृगौला पीडितलाई आर्थिक सहयोग

पाल्पा, पाल्पाली सेवा समाज दोहा कतारले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । उसले विगत एक वर्षदेखि मृगौलाको उपचार गराउदै आएका बगनासकाली गाउँपालिका–७ खानीगाउँका ५२ बर्षीय दिलबहादुर मगरलाई एक लाख आर्थिक सहयोग गरेको हो । समाजका संस्थापक पदाधिकारीहरु यमबहादुर बिक, भरत खत्री, भरतकुमार रसाइली र समाजसेवी हरिदेव थापाको टोलीले उक्त रकम मृगौला पीडित बगालेलाई हस्तान्तरण गरेका हुन् ।

भैरहवाको एक होटलमा काम गर्दै आएका उनले बाबु, आमासँगै परिवारको पालनपोषण गर्दै आएका थिए । मृगौलामा समस्या देखिएपनि अहिले उनी उपचारमै छन् । आर्थिक अवस्था कमजोर रहेका रहेका उनलाई अहिले परिवार पाल्न र आफ्नो औषधि उपचारमा समस्या उत्पन्न भएको छ । उनको उपचारमा समस्या भएपछि पाल्पाली सेवा समाज दोहा कतारका अध्यक्ष महल केसी, महासचिव रामलाल खाती लगायत समाजका पदाधिकारी तथा सदस्यहरुको पहलमा उक्त रकम संकलन गरिएको समाजका संस्थापक भरतकुमार रसाइलीले बताए ।

समाजले विगतमा पनि विभिन्न रोगबाट पीडितहरुलाई आर्थिक सहयोग गर्नुका साथै पाल्पाको मदनपोखरा स्थित दृष्टिबिहीनहरुको पठन पाठनका लागि समेत आर्थिक सहयोग गर्दै आएको समाजका अर्का संस्थापक भरत खत्रीले बताए । वैदेशिक रोजगारीमा गएका पाल्पालीहरुले आफ्नो पारिश्रमिक मध्यबाट संकलन गरेर उक्त सहयोग गरेका हुन् । आफुप्रति विदेशमा बस्नेहरुले देखाएको सहयोग र सद्भावप्रति धन्यवाद दिए ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update