Shittalpati
किन हुन्छ सरकार र राजनीतिक दलप्रति आलोचना ?

दुर्गा प्रसाद अर्याल

‘विकास नभएको त होइन है बावु, गाउँ गाँउमा मटर बाटो पुगेकै छ । उपचार नपाएर मर्न पर्ने अवस्था अहिले छैन । सरकारले स्वास्थय बिमा गरिदिएको छ । हामी काम गर्न नसक्ने उमेरका लागि त झनै राम्रो पो गरेको छ त, भत्ताको व्यवस्था गरेको छ दुई चार पैसाका लागि कसैको मुख हेर्न पदैन । अझै ६८ वर्षमै भत्ता पाउने गरायो गरे बावु ।’ एक अभिभावकसँगको बसाईमा व्यक्त विचार हुन् यिनी । उहाँका यी भनाईले मलाई एक पटक सोंच मग्न बनायो । हैन विकास त नभएको त हैन हरेक क्षेत्रमा सुधारहरु भने प्रसस्त देखिएकै छन् तर पनि राजनीतिक दल ,तीनका नेतृत्व र सरकार प्रति जनताहरुमा वितृष्णा र आलोचनाहरु किन बढी रहेको छ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

शिक्षा क्षेत्र तर्फ हेर्ने हो भने छात्र वृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक, राम्रा र सुविधा सम्पन्न भवन, सुविधायुक्त कक्षाकोठा, गाउँमै स्नातक र स्नाकोत्तरसम्मको शिक्षा लिन पाउने व्यवस्था अझै भन्नु पर्दा एउटा गरीवको जेहन्दार छोरा छोरीले सरकारी कोटामा डाक्टर, इञ्जीनियर लगायतका विषय पढ्न पाउने व्यवस्था गरेको छ । पैसाको अभावमा अहिले कसैले शिक्षा लिन बाट बञ्चित हुनु पर्ने देखिदैन । स्वास्थ्य क्षेत्रमा पनि सुविधाहरु प्रसस्त थपिएका छन्,पैसाको अभावमा कोही पनि उपचार बाट बञ्चित हुनुपर्ने देखिदैन, सुविधा सम्पन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा थप सेवा सुविधाहरु थपिएका छन् । राज्यको तर्फबाट पनि विभिन्न अनुदान तथा प्रत्येक नागरिकका लागि
विभिन्न स्वास्थ्य उपचारको सुविधा प्रदान गरेको छ ।

साना तीन कामका लागि अब सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य हँुदै गइरहेको देखिन्छ  । बजेट बाँडफाँड स्थानीय आवश्यकताको आधारमा स्थानीयतहबाट नै भएको देखिन्छ । केहि महिनाबाहेक हरेक समय र हरेक गाउँमा सुविधा सम्पन्न बाटोहरु पुगिसकेका छन् । हरेक पक्षबाट पछाडी परेका जाती तथा वर्गहरुलाई विभिन्न सेवा तथा सुविधाहरुको व्यवस्था गरिएको छ । आरक्षण, बजेटको बाँडफाँड, सशक्तिकरण तथा नीति निमार्णतहमा सहभागिताको सुनिश्चितता गरिएको छ । आवाजविहिनको अवस्थाको अन्त्य भएको छ । आवाज सुन्नका लागि शक्ति र आफ्नो मान्छे नै चाहिने अवस्थाको अन्त्य भएको छ । कृषि क्षेत्रमा बजेट बाँडफाडको अंश वृद्धि गरिएको छ । कृषि क्षेत्रमा आधुनिकिकरण भित्रिरहेको देखिन्छ । अनुदान र सहयोगका कार्यक्रम तथा योजना बनाईएका छन् । खाद्यन्न लगायत कृषि क्षेत्रमा आत्मनिर्भर भै आयात विस्थापित गर्ने तर्फ तीनै तहका सरकार लागि परिरहेको देखिन्छ । केहि क्षेत्रमा परिवर्तनको झल्को देखिन थालेको छ । राष्ट्रिय स्तरका नयाँ सडकहरु निमार्ण तिव्ररुपमा भैरहेका छन् । स्थानीय तहका वडाहरुमा कालोपत्रे बाटाहरु देखिन थालेका छन् । नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विमानस्थल निमार्ण भएका छन् । कुनै संचालनमा पनि आइसकेका छन् । रोजगारीका अवसरहरु सिर्जजना गर्ने कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । बजेटमा जनतालाई हित हुने कार्यक्रमहरु तिव्र रुपमा थपिएका छन् ।

यी उल्लेखित केहि विकासका आयोजनाहरु सञ्चालनमा रहेता पनि सरकार, राजनैतिक दल र तीनका नेतृत्व प्रति किन यसरी वितृष्णा बढी रहेको छ । आलोचनाहरु किन बढिरहेको छ होला ? व्यवस्था परिवर्तनले सञ्चार क्षेत्रको विस्तारमा पनि व्यापकता पायो जसको कारण साना तीना गल्ती र कमजोरीहरु सञ्चार माध्ममा आउनथाले र जनतामा यस्ता समाचारले भ्रम सिर्जना गरिदियो, कतिपय समाचारहरु प्रतिसोध, फरक राजनीतिक दल, फरक विचारका कारणले पनि आई रहेका छन् यो पनि एउटा कारण हो तर यसको विश्लेषण गर्न सक्ने धेरै नागरिकमा क्षमता देखिदैन । यो पनि एउटा कारण हो की ? अनुमान लगाउन सकिन्छ । विभिन्न सञ्चार माध्मम तथा तिव्र रुपमा विस्तार भएका सामाजिक सञ्जाल र प्रसारित समाचारका कारण यर्थाथ भन्दा पनि भावनामा वहने हाम्रो बानीले गर्दा पनि वितृष्णा र आलोचनाहरु बढी रहेको अनुमान गर्न सकिन्छ । राम्रा राम्रा योजना तथा कार्यक्रमहरुको निमार्ण त गर्याै तर त्यसको राम्रो व्यवस्थापन गर्न नसक्दा सरकार र नेतृत्व आलोचनाबाट मुक्त हुन सकेको देखिदैन । कृषि कार्यका लागि आवश्यक रासायनिक मल तथा विउविजनको समयमै आवश्यकता अनुसार आपूर्ति गर्न नसक्नु, अत्यावश्यक वस्तु तथा सेवाको समय समयमा अभाव तथा कालो बजारी हुनु, सरकारको अनुगमन र नियन्त्रण गर्ने निकाय निरीह हुनु, अधिकर हरेक क्षेत्रमा राजनीतिक हस्तक्षप हुनु, विकास निमार्णका कार्यमा गुणस्तरताको अभाव हुँदै जानु, क्षमता र योग्यता हैन नातावाद र कृपावाद व्यापक रुपमा हावी हुँदै जानु, नेतृत्व पदमा पुगेका सासंद, मन्त्रीले समय समयमा आफ्नो पदीय दायित्व, मर्यादा र कर्तव्य भुलिदिनु केहि विस्तृष्णा र आलोचना उत्पन्न गराउने पक्षहरु हुनु । यसका साथै हामीले हाम्रो स्रोत र साधन परिचालन गर्ने ठोस योजना तथा कार्यक्रम लामो समय दिदा सम्म बनाउन नसक्नु, आर्थिक वृद्धिर जनताको जीवनस्तर तथा प्रतिव्यक्ति आय वृद्धिमा सुधार गर्न नसक्नु, अनुदान, ऋण र वैदेशिक सहयोगको आधारमा देशको अर्थतन्त्र सञ्चालन गर्ने योजना बनाउनु, प्राप्त स्रोत अनुत्पादक, पहुँच र शक्तिको आधारमा बाँडफाड गर्नु, कतिपय राष्ट्रियता र राष्ट्र हितका पक्षलाई कुल्चदै अन्य देशसँग सम्झौता र सहकार्य गर्नु, सत्ता र शक्तिका लागि जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने नेतृत्ववर्ग केहि विकास र परिवर्तनलाई विर्साउने कारणहरु हुन् । यी पक्षमा सुधार गर्नु जरुरी देखिन्छ ।

व्यवस्था परिवर्तनसंगै नेतृत्व वर्गको व्यवहारमा परिवर्तन गर्न नसक्दा केहि समस्याहरु देखिएता पनि हिजो भन्दा आज विकासले गति भने पक्कैलिएको छ र जनताले केहि परिवर्तनको आभाषको महशुस गरेका छन् । हाम्रो यर्थाथ धरातलअनुसार राज्य सञ्चालन गरौं, ऋण खोजेर सधै ध्यू नखाऔं, कहिले सम्म र कुन क्षेत्रमा ऋण तथा अनुदान लिने त्यस सम्बन्धी स्पष्ट नीति बनाउने प्रयास गरौं, जनताबाट आलोचना र विरोध भएका विषयमा सुध्रीने र सुधार गर्न सक्ने बानीको विकास गरौं यसो गर्न सकेमा हालको राज्यव्यवस्था, सरकार, राजनीतिक दल र नेतृत्व माथि आएको आलोचना र वितृष्णाको अन्त्य गर्न सकिने थियो की ? (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update