Shittalpati
प्रकाशकीय

विश्वव्यापी रुपमा नोभल कोरोना भाईरसको जोखिम बढ्दै गएपछि कैलाशनगर मिडिया प्रालि पाल्पाद्वारा प्रकाशित नवजनचेतना दैनिक पत्रिकाले परिस्थितिमा सुधार नआएसम्मका लागि प्रकाशन स्थगन गर्ने निर्णय गरेको कुरा जानकारी गराउन चहान्छौं । अत्यन्त भयावह रुपमा फैलिदै गएको कोरोना भाईरस विश्वका १ सय ९५ देशमा पुगिसकेको अवस्था र नेपाल सरकारले गरेको लकडाउनको निर्णयलाई कार्यान्वयनमा सहजता होस् भन्ने ध्येयका साथ हामीहरुले पनि एउटा कठोर र अत्यावश्यक निर्णय गरेका छौं ।

दैनिकमा कार्यरत सम्पूर्ण वितरक, प्रेसका प्राविधिक, संवाददाता र प्रकाशनमा अहोरात्र खट्ने सहकर्मीहरुमा भाइरसको संक्रमण नहोस् भनेर मास्क, स्यानिटाइजरको व्यवस्था गरेका छौं । अन्य सुरक्षा सावधानी पनि अपनाएका छौं । तापनि  काम गर्ने शिलसिलामा कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामीले बेवास्ता गर्न नमिल्ने भएका कारण यस्तो गरिएको हो । जसअनुरूप विगत २५ वर्षदेखि निरन्तर रुपमा प्रकाशित नवजनचेतना दैनिक वर्ष २५ अंक २४२ पछि केही दिनका निम्ति स्थगन हुनेछ । हामीलाई विश्वास छ, परिस्थिति अनुकुल भएपछि हामी निरन्तर पूर्ववत रुपमा पाठक माझ आउनेछौं । यस बिच हाम्रो अनलाईन संस्करणको रुपमा रहेको शित्तलपाटी डटकम भने पलपलका खवरका साथ निरन्तर सेवारत रहने छ ।

वर्तमान भयावह अवस्थालाई मध्यनजर गरेर पत्रपत्रिकाको नियमित वर्गीकरण र अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालसँग समन्वय गरेर पब्लिकेशनको शुक्रबार बसेको बैठकले यो निर्णय गर्नु परेको हो । यसबाट हाम्रा नियमित पाठक वर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं । यस बीच हामी हाम्रो आधिकारिक अनलाईन डिजिटल पत्रिका शित्तलपाटी डटकमबाट नोभल कोरोना भाईरसको प्रभाव र अन्य समसमायिक समाचारहरु निरन्तर पस्कनेछौं ।

प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  ००:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update