Shittalpati
प्रकोप व्यवस्थापन कोष मजबुत बनाउँदै तिलोत्तमा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगरप्रमुख वासुदेव घिमिरेले ५० हजार र उपप्रमुख जगेश्वरदेवी चौधरीले १० हजार प्रदान गरेकी छन् । नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए । प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रहेकोमा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तीमा एक करोड पु¥याउने लक्ष्य राखिएको छ ।

नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आÞवानसँगै विभिन्न व्यक्ति तथा संघसंस्थाले रकम दिन थालेका छन् । होराइजन जिबिएस स्कूलले एक लाख एक हजार र प्रदीपनगर निवासी समाजसेवी चिन्तामणी चालिसेले कोषमा पाँच हजार पाँच सय दिने घोषणा गरेका छन् । नगरपालिकाले एनआईसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ । कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगरप्रमुख घिमिरेले बताए । कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा १ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भइरहेको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, दुई किलो दाल र एक किलो नुन दिने घोषणा गरेको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update