Shittalpati
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता

पाल्पा,  नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । आइतबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट परीक्षण गरिएका १ हजार ७ सय नमूनाको पीसीआर र १ हजार ३ सय ४५ नमूनाको एन्टिजेनमध्ये १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट १ सय ४ र एन्टिजेन विधिबाट १७ जनामा संक्रमण पुष्‍टि भएको हो । शनिबार १ सय २ जनामा संक्रमण देखिएको थियो । कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै, आइतबार थप ३१ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनहरुमा संक्रमणको दर उकालो लाग्दै गए पनि स्वास्थ्य सतर्कता भने अपनाइएको छैन । मन्त्रालयले संक्रमण बढिरहेकाले सर्तकता अपनाउन भनेको छ । तर त्यसको कोही कतैबाट पनि पालना भएको छैन् । मन्त्रालयले कोरोना संक्रमणबाट बच्न मास्क लगाउन, भौतिक दूरी कायम राख्न, भिडभाड नगर्न भने पनि त्यसको बेवास्त गरिएको छ । भिडभाड अत्यधिक हुने क्षेत्र मै नागरिकहरूले मास्क लगाएका छैन । जान्ने बुझ्नेहरूबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण बढ्न सक्ने आंकलन गरिएको छ ।

संक्रमण बढेसँगै भारतबाट नेपाल आउनेमा कोरोना परीक्षण सुरु गरिएको छ । कोभिड–१९ संक्रमणको पछिल्लो अवस्थाले फेरि अर्को लहर निम्तिन सक्ने त्रास पैदा गराएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update