Shittalpati
नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै

पाल्पा, नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नबिल बैंकले एक सूचना जारी गर्दै एकिकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको नियमन विभागले सो बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका लागि अनुमति प्रदान गरेको थियो । सोही अनुरुप नै दुई बैंकले आफ्नो एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । यही असार १५ गतेमात्रै केन्द्रीय बैंकले एकीकृत कारोबारका लागि अन्तिम अनुमति दिएको थियो । सोही अनुमतिका आधारमा नेपाल ब·लादेश बैंकको सम्पूर्ण दायित्वसमेत अब नबिल बैंकले लिने भएको छ । नबिलले नेपाल बङ्गलादेश बैंकलाई प्रतिशेयर ४३ का दरले गाभेको हो । यी दुबै कम्पनीको गत जेठ ७ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित भएको थियो ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा प्राप्ति गरेको हो । हाल नबिल बैंकको चुक्तापूँजी १८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार छ भने नेपाल बङ्गलादेश बैंकको १० अर्ब ८ करोड ५३ लाख ९९ हजार छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले पनि एकापसमा गाभिने सम्झौता गरिसकेका छन् । ग्लोबल आइएमई बैंकले बैंक अफ काठमाण्डू बैंक गाभ्ने सम्झौता गरिसकेको छ । त्यस्तै हिमालयन बैंक र सिभिल बैंकले एकापसमा गाभिने अन्तिम तयारी गरिरहेका छन् । असार मसान्तभित्रै अन्य बैंकले समेत एकापसमा गाभिने तयारी गरेका छन् । नेपाल राष्ट्र बैंकको नीतिअनुसार नै बैंक तथा वित्तीय संस्था एकापसमा गाभिनका लागि आवश्यक सहमति गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update