Shittalpati
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६० प्रतिशत, खर्च गर्न प्रदेश सरकार कमजोर

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ६० प्रतिशत मात्र बजेट खर्च गरेको छ । असार २२ गतेसम्मको तथ्याङ्कलाई हेर्दा प्रदेश सरकारले ६०.८९ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारले यही समयसम्म कुल बजेटको ६९ प्रतिशत बजेट खर्च गरेको थियो । उसले यस पटक भने ८ प्रतिशत कम बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । जसमा २४ अर्ब ९४ करोड २४ लाख अर्थात् ६०.८९ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले बताए । चालुतर्फ १८ अर्ब ४८ करोड ८१ लाख बजेट विनियोजन भएकोमा ११ अर्ब ६६ करोड ३३ लाख अर्थात् ६३ प्रतिशतमा बजेट खर्च भएको छ । त्यस्तै पुँजीगततर्फ २२ अर्ब ४७ करोड १६ लाख बजेट छुट्याएकोमा १३ अर्ब २७ करोड ९१ लाख अर्थात् ५९.०९ प्रशित मात्र बजेट खर्च भएको लेखा नियन्त्रक ज्ञवालीले बताए ।
उनका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षको असोजमा प्रतिस्थापन बजेट ल्याउँदा खर्चमा ढिलाइ भएकाले बजेट खर्चमा कमी आएको हो । बजेट खर्चको समयमा निर्वाचन परेकाले पनि खर्चको दरमा कमी आएको लेखा नियन्त्रक ज्ञवालीले बताए । आर्थिक वर्षको अन्त्यतिर आएर मात्र प्रदेश सरकारको खर्चको दर बढाउँदै लगेको छ । प्रदेश सरकारले पछिल्लो २० दिनको अवधिमा मात्र १०.४७ प्रतिशत बजेट खर्च गरेको छ । बाँकी रहेको १० दिनमा प्रदेश सरकारले थप १० प्रतिशत खर्च गर्ने अनुमान गरिएको छ । असार मसान्त नजिक आउँदै गर्दा खर्चको दर पनि बढ्दै गएको प्रदेश लेखा नियन्त्रणको कार्यालयले जनाएको छ । प्रदेश सरकारले आर्थिक वर्षको ९ महिनामा १ तिहाई पनि बजेट खर्च गर्न सकेको थिएन ।
९ महिनामा चालु र पूँजीगत खर्च गरी ३२.८८ प्रतिशत अर्थात् १३ अर्ब ४६ करोड ५८ लाख ३६ हजार ५ सय ६६ बजेट खर्च गरेको थियो । यस्तै जेठ मसान्तसम्म चालु र पुँजीगत खर्च गरी ४५.३३ प्रतिशत अर्थात् १८ अर्ब ५६ करोड ५१ लाख ७६ हजार ८३ बजेट खर्च गरेको थियो । जसमा चालुतर्फ ४५ दशमलव ६१ प्रतिशत र पुँजीगत खर्चतर्फ ४५ दशमलव १० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असार महिनाको २२ दिनमै खर्च बढाएर चालुतर्फ ६०.८९ प्रतिश र पुँजीगततर्फ ५९.०९ प्रतिशत पु¥याएको छ । प्रदेश सरकारले समय रहुञ्जेल काम नगर्ने र आर्थिक वर्षको अन्तिममा आएर मनलाग्दी रूपमा बजेट खर्च गर्ने गरेको छ । उसले कार्यान्वयन नै नहुने स्रोत र खर्चको अनुमान गरेर ठूलो आकारको बजेट ल्याएकाले पनि बजेट खर्च गर्न नसकेको हो । संघीय सरकारको सिको गरेर खर्च गर्ने क्षमता नबढाउने, तर ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिका कारण बजेट खर्चमा समस्या देखिएको हो । प्रदेश सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१.२६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् कुल बजेटको ५७.४१ प्रतिशत विनियोजन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update