Shittalpati
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पाल्पा, नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य फेरी बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मटीतेलमा ९ रूपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रूपैयाँ बढाएको हो । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मूल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१, डिजेल र मट्टीतेल १ सय ७२ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछरु। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छरु। भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ ।

एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो । यसैबिच निगमले डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रेसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न, छोटो दूरीमा सवारीसधनको प्रयोग नगर्न, ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । निगमले अधिकतम मात्रामा सवारीसाधन तथा घरायसी प्रयोगमा विद्युत खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई आग्रह गरेको छ । रुस तथा युक्रेनको लगातारको युद्धले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण वित्तीय स्थिति नाजुक भइरहेको भन्दै निगमले सरकारलाई पत्र नै लेखेर इन्धन खपत कम गर्ने १० उपाय सिफारिस गरेको निगमले जनाएको छ । निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएर पत्र लेखेको हो ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update